अधिकांश सवारी दुर्घटना तीव्र गतिका कारण भएको पाइएपछि मोरङमा सवारी साधनको गति मापन गर्ने यन्त्र (राडार गन) प्रयोगमा ल्याइएको छ ।

तीव्र गतिमा गाडी चलाउँदा गाडी दुर्घटना बढेको निष्कर्ष निकाल्दै ट्राफिक प्रहरीले जिल्लामा पहिलो पटक गाडीको गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले पहिलो पटक उक्त यन्त्रको परीक्षणमा ल्याएको ट्राफिक प्रमुख इन्स्पेक्टर सुमन न्यौपानेले जानकारी दिए ।

यसअघि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउँदा दुर्घटना बढेको भन्दै प्रहरीले मापसे चेकजाँच गर्न ब्रेथलाइजर मेसिन प्रयोगमा ल्याएको थियो । दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरका मुख्य सडक तथा सहायक सडकमा राडार गन प्रयोग गरी तीव्र गतिमा कुदाइएको सवारी साधनलाई कारबाही गर्न थालेको ट्राफिक प्रहरी इन्स्पेक्टर न्यौपानेले बताए ।

पूर्व –पश्चिम राजमार्गमा पनि विभिन्न स्थानहरूमा रहेका चेकपोष्टहरूमा राडार गनको प्रयोग गर्दै ट्राफिक  सचेतना अभियान सञ्चालन गर्ने  साथै आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने उनले बताए । 

‘सवारी चालकको आफ्नै लापरबाहीले गर्दा धेरैभन्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ । बरू सवारी दुर्घटना हुनुभन्दा अगाडि नै सवारी चालकहरूलाई सचेत गराउन यो उपकरण प्रयोगमा ल्याएको हो’–उनले भने । दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले मोरङको पूर्व–पश्चिम राजमार्गसहित, विराटनगर र हुलाकी सडकहरूमा  अभियान केन्द्रित हुनेछ । ‘हामीले प्रयोगमा ल्याएको राडार गन विशेष किसिमको अत्याधुनिक छ ।

यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने र ३ सय मिटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीव्र गति छ भने सय मिटरको दूरीमा आएपछि नम्बरसहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाइ बुझाइ गरी कारबाहीको दायरामा ल्याउनेछ’ प्रहरी इन्स्पेक्टर न्यौपानेले भने, ‘कुन गाडी कति गतिमा गुडेको छ ।

त्यसले गनमा अङ्क देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल सप्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज हुनेछ ।’ राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ ।