सरकारसँग छ बुँदे सहमतिपछि पाँच दिनदेखि जारी स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित भएको छ । स्वास्थ्यकर्मीहरु नियमित काममा फर्कने भएका छन् ।
शनिबार भएको छ बुँदे सहमतिमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुन संशोधन गर्न  सरकार तयार भएपछि मङ्गलबारदेखि जारी स्वास्थ्यकर्मीको आन्दोलन स्थगित भएको हो ।

मणिपाल अस्पताल, पोखरा लगायतका स्थानमा कुटपिट भएपछि स्वास्थकर्मीहरुले सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका थिए ।

सरकार र संघर्ष समितिबीच कुटपिटमा संलग्नहरुलाई अहिलेकै ऐन अनुसार कारबाही गर्ने र मणिपाल लगायतका स्वास्थ्य संस्थामा सुरक्षा भरपर्दो बनाउने सहमति भएको छ ।

साथै चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधानमा न्यूनतम सरकारी सरह एकरुपता कायम गर्ने लगायतका तत्काल सुधार गर्नुपर्ने विषयहरुमा अध्ययन गर्न स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा १५ दिनभित्र कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।

स्वास्थ्यकर्मीमाथि बारम्बार भइरहेको कुटपिट तथा दुर्व्यवहारका घटनाको कारक तत्व पत्ता लगाई निराकरणका लागि गर्नुपर्ने नीतिगत र कानुनी सुधारबारे सुझाव दिन १० दिनभित्र अर्को उच्चस्तरीय कार्यदल पनि बनाउने भएको छ । दुबै कार्यदलको प्रतिवदेनको मूल मर्म कार्यान्वयन गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता छ ।

यो सहमतिसँगै स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ ।  स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरे र सरकारका तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंहले हस्ताक्षर गरेका छन् । 

विद्यमान कानुनी व्यवस्थाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको मनोबल नउठ्ने भन्दै स्वास्थ्यकर्मीले कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुनुपर्ने माग गर्दै आएका थिए । सरकारले घटनामा संलग्नहरुलाई कानुनअनुसार कारबाही गर्ने बताए पनि चिकित्सकहरुले आन्दोलन जारी राखेका थिए । 
Sarkar Doctor Sahamati