भोलि शनिबार र पर्सी आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठन जी २० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपतिको अनुपस्थितिले केही फरक नपार्ने टिप्पणी एक जना पश्चिमा कूटनीतिकज्ञले गरेका छन् । 

भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङको जी २० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताएका हुन् । 

एएनआईसँगको अन्तर्वार्तामा राजदूत एकरम्यानले राष्ट्रपति पुटिन अघिल्लो शिखर सम्मेलनमा सहभागी नभकाले यसपटकको उनको अनुपस्थितिलाई अचम्म मान्नुपर्ने केही कारण नभएको बताए । ‘चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिले भने हामी अलिकति विस्मित भयौं तर उहाँको प्रतिनिधित्व चिनियाँ प्रधानमन्त्रीले गर्ने भएपछि यसले खासै फरक पार्दैैन,’ चिनियाँ धारणा प्रधानमन्त्रीबाट प्रस्तुत हुने उल्लेख गर्दै उनले भने । 

एउटा देशको राष्ट्रपतिको अनुपस्थितिले यो शिखर सम्मेलनलाई छायामा पर्न दिननहुनेमा जोड दिदै जर्मनीका राजदूतले जी २० को स्थायी सदस्यताको लागि अफ्रिकी संघलाई आमन्त्रित गर्ने भारतको निर्णयको स्वागत गरे । उनले युरोपेली संघसँगै अफ्रिकी संघलाई पनि समावेश गर्ने भारतीय प्रयासलाई खुला हृदयले समर्थन गर्ने बताए । भारतको अध्यक्षताले जी २० लाई नयाँ उचाइमा पु¥याएको उनले उल्लेख गरे । 

शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक आलेख प्रकाशन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिएका छन् । उनले साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिक रुपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकांक्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्य भएको विचार व्यक्त गरे । 

भारतका प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरशः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताए ।