बिर्तामोड ।  साहित्य चौतारी झापाले दुईजना झापाली स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । होटल हिकोला हेरिटेजमा आयोजित समारोहका बीच साहित्य चौतारीले साहित्यकारहरु भवानी क्षेत्री र हरिचरण बानियाँलाई उक्त सम्मान प्रदान गरेको हो ।

साहित्यको विकास र प्रवद्र्धनमा अहोरात्र लागेका दुई विशिष्ट प्रतिभालाई दीर्घ साधना सम्मान प्रदान गर्न पाउँदा खुशी लागेको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । ‘अविच्छिन्न साहित्य साधना र लेखन कर्ममा संलग्न हुनु चानचुने कुरा होइन’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने ।

वरिष्ठ आख्यानकार पून्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभा आयोजना भएको हो । कार्यक्रममा बोल्दै साहित्यकार खरेलले स्रष्टा सर्जकको योगदानलाई सम्झिने साहित्य चौतारीले लिएको नीति प्रशंसनीय रहेको बताए । ‘देवीभक्त जीले साहित्य चौतारीलाई यहाँसम्म ल्याउन जुन भूमिका र लगानी गर्नु भएको छ, सायदै अरुले गर्दैन’, कार्यक्रमका प्रमुख अतिथि खरेलले भने, ‘भाषाकला र साहित्यको विकासका लागि सरकारी तहले पनि यत्तिको लगानी गरेका छैनन् ।’

२०५६ सालमा स्थापना भएको साहित्य चौतारीले रजत वर्ष मनाइरहेको छ । रजत वर्षका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्य चौतारीको उद्घाटन गरेका थिए । साहित्य चौतारीले सधैँ राष्ट्रकविलाई सम्झदै आएको छ ।

यस पटकको मासिक सांगीतिक काव्यसभामा पनि राष्ट्रकविका रचना गुञ्जिएका छन् । उनको तेस्रो स्मृति दिवस पनि हो । साहित्य चौतारीको स्थापनामा राष्ट्रकवि घिमिरेको महत्वपूर्ण योगदान भएको संरक्षक श्रेष्ठले बताए ।