जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राती भने देशभर सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यी क्षेत्रहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ । नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।