बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत इन्टर्न चिकित्सकहरू साउन ३१ गतेदेखि आन्दोलित बनेका छन् । 

जीवन निर्वाह भत्ता वृद्धिको माग गर्दै आएका उनीहरूको माग सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलित बन्नुपरेको आन्दोलनमा सहभागीमध्येका एक विद्यार्थी हरिषबहादुर मल्लले बताए । उनका अनुसार जीवन निर्वाह भत्ता वृद्धिका विषयमा हालसम्म प्रतिष्ठानले माग सुनुवाइ नगरेकाले काम नै छाडेर आन्दोलित बन्नुपरेको हो । प्रतिष्ठानमा एक सय ३० जना इन्टर्न चिकित्सकहरू रहेका छन् । हाल प्रतिष्ठानले जीवन निर्वाह भत्ताबापत १८ हजार ३ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ । तर, हालको महँगीअनुसार २३ हजार रुपैयाँ पु¥याउनुपर्ने उनीहरूको माग छ । 

बीपी प्रतिष्ठानका कामयमुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले नै साउन १४ गते प्रा.डा. पारसकुमार पोखरेलेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विद्यार्थी प्रतिनिधिको रूपमा डा. ओमशान्ति रजक, प्रशान्त राई, हरिषबहादुर मल्ल, राजुराज शाही र मोहम्मद अफ्रोज रहेका थिए । उक्त समितिले साउन १६ गते चार बुँदे सिफारिस प्रतिवेदन प्रतिष्ठानलाई बुझाएको थियो । उक्त बुँदाको पहिलो नम्बरमा इन्टर्नसिप सुरु भएको मितिदेखि नै लागू हुने गरी मासिक २३ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गर्ने सहमति गरिएको छ । त्यस्तै विगतमा भएका सहमतिहरूमध्ये कतिपय पालना नभएकाले विश्वासको वातावरण नबन्ने हुँदा अब उप्रान्त भएका सहमतिहरू पलना गर्नसमेत राय सुझाव पेश गर्ने, इन्टर्न चिकित्सकहरूको मागका कारण कुनै पनि इन्टर्नहरूलाई पूर्वाग्रह व्यवहार हुने छैन भन्ने सुनिश्चिततालगायत छन् । त्यस्तै आगामी दिनमा प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारीहरूको तलव वृद्धि हुँदा सोही अनुपातमा इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता वृद्धि गर्न सिफारिस गरिएको छ । 

तर, उक्त बुँदाहरू पनि हालसम्म सुनुवाइ नभएपछि बाध्य भएर काम छाडी आन्दोलन गर्नुपरेको उनले जानकारी दिए । ‘चार जना पदाधिकारीहरू एक ठाउँमा बसेर छलफल गर्नुभयो भने यो मुद्दा एकैछिनमा टुङ्गिन्छ । रिकोमन्डेड गरेका बुँदाहरू पूरा गर्न नसकिने भन्ने केही छैन’–उनले भने । इन्टर्न चिकित्सकहरू पहिलो पटक वैशाख २१ गते प्रतिष्ठानलाई ध्यानाकर्षण गराएको थियो । त्यसयता उनीहरू जेठको ३१ गतेदेखि चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए । बीचमा समिति बनेकाले माग पूरा हुने आशा गरे पनि हालसम्म माग पूरा हुन सकेको छैन ।