विराटनगर । स्वास्थ्य क्षेत्रको ‘हब’को रूपमा विकास हुँदै गएको विराटनगरमा दर्ता विनाका प्रयोगशाला छ्यापछ्याप्ती रहेको पाइएको छ । चाँडै पैसा कमाउने उद्देश्यले न्यूनतम् मापदण्डसमेत पूरा नगरी दर्ता विनै खुलेआम प्रयोगशाला सञ्चालनमा रहेको पाइएको हो ।

अनुगमनको क्रममा विराटनगर–७ हस्पिटल चोकमा दर्ता विना सञ्चालनमा आएको मेडिकुइस्ट प्रयोगशाला बिहीबार शिलबन्दी गरिएको छ । महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गरेको अनुगमनको क्रममा दर्ता विनै सञ्चालनमा रहेको पाइएपछि मेडिकुइस्ट ल्याव शिलबन्दी गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

‘महानगरपालिकामा दर्ता विना प्रयोगशाला सञ्चालनमा रहेको उजुरी परेको थियो । उजुरीको आधारमा अनुगमन गरेका थियौं । एउटा घरको कोठा भाडामा लिएर विना दर्ता ल्याव सञ्चालन गरेको पाइयो’ उनले भने, ‘दर्ता विना मनलाग्दी रूपमा बिरामीको स्याम्पल झिकेर विभिन्न जाँच गरेको पाइयो ।’ दर्ता विना सञ्चालनमा आएको प्रयोगशालाले सङ्कलन गरेका स्याम्पलहरू भारतको जोगवनी पठाउने गरेको पाइएको छ । ‘झापा, मोरङ र धनुषाबाट सङ्कलन गरेको स्याम्पल विराटनगरमा ल्याएर भारत पठाउने गरेको पाएको छ’–उनले भने । यसरी विभिन्न जिल्लाबाट सङ्कलन गरेको स्याम्पलहरू भारत पठाउँदा यहाँभन्दा सस्तोमा परीक्षण गरी बढी मुनाफा आर्जन गर्ने मनसायले परीक्षणका लागि भारतमा पठाउने गरेको पाइएको छ ।

दर्ता विना यसरी प्रयोगशाला सञ्चालन गर्ने सुनिल मण्डल र पङ्कज साह रहेका छन् । ‘अहिले प्रयोगशाला शिलबन्दी गरी अनुसन्धान सुरु गरेका छौं’ स्वास्थ्य महाशाखा प्रमुख अलीले भने, ‘अनुसन्धानपछि कसूरको अवस्था हेरेर थप कारबाही हुनेछ ।’

प्रयोगशाला सञ्चालनको लागि विराटनगर महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । तर, विराटनगरको कोशी अस्पतालअगाडि र हस्पिटल चोकतिर च्याउसरी खुलेका क्लिनिक र प्रयोगशालाहरू नाम मात्रको रहेका छन् । यहाँ रहेका धेरै प्रयोगशालाहरू दर्ता विनै सञ्चाललित रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् । ‘अनुगमन टोली आएको जानकारी पाएपछि अरू प्रयोगशालाका सञ्चालकहरू भने सटर बन्द गरेर फरार भएका छन्’ अलीले भने, ‘यसरी ल्याव बन्द गरेर भाग्नु भनेको केही कैफियत हुनसक्छ । हामी अब ल्यावहरूमा निरन्तर अनुगमन गर्नेछौं ।’ स्वास्थ्य क्षेत्रमा धेरै जनगुनासो आएकोले अब अनुगमनलाई तीव्रता दिने उनले बताए ।