पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले डेंगी रोग नियन्त्रण गर्न सक्रियता अपनाएको छ । मंगलबार सिम्रिक होलट यासोकमा जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा भएको कार्यक्रम मार्फत डेंगी रोग नियन्त्रण गर्न सक्रियता अपनाएको हो ।

गाउँपालिकामा डेंगी रोग सरोकारवालाहरुसंगको समन्वय बैठक तथा अन्तरक्रियापछि यासोक बजारको अनुगमन तथा निरीक्षण गरेको छ । गाउँपालिकाले डेंगी रोग नियन्त्रणको लागि लामखुट्टेको लार्भा नष्ट गर्न अभियान सञ्चालन गरेको थियो ।

बजारको विभिन्न स्थानमा फोहोर जम्ने नाली, पानीका ड्रम, खाल्डाखुल्डी व्यवस्थापन गर्दै बजार सरसफाइमा ध्यान दिन स्थानीयलाई गाउँपालिकाले सुझाव दिएको छ । बजारमा पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानीका ड्रम छोप्ने, नाली र झाडी नियमित सरसफाइ गर्न बजार बासीलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले आग्रह गरेको छ । 

पछिल्लो समय तराई क्षेत्रबाट सङ्क्रमण फैलिने क्रम बढेको भन्दै गाउँपालिकाले रोग नियन्त्रणमा सक्रियता अपनाएको कुम्मायक–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले बताए । रोग नियन्त्रण गर्न नागरिक स्तरबाट चासो दिनुपर्नेमा लावतीको जोड थियो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले गाउँपालिकामा डेंगी रोगको सङ्क्रमण रोकथाम गर्न युद्ध स्तरमा लागि पर्ने प्रतिबद्धता जनाए । बजारमा यसको सङ्क्रमण र जोखिम बढी हुने भएकाले गाउँपालिकाले उच्च सावधानी अपनाउने खड्काको भनाइ छ ।

गाउँपालिकाले बजारका विभिन्न स्थानको अध्ययन र अवलोकनपछि डेंगी फैलिन सक्ने सम्भावित क्षेत्रको खोजी गरी रोकथाम र नियन्त्रणको लागि पहल गर्ने गाउँपालिका अध्यक्ष वंमप्रसाद लावतीले बताए ।

डेंगी रोग नियन्त्रण सम्बन्धीको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका जनस्वास्थ्य अधिकृत लवरेन्ज शाह र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले सहजीकरण गरेका थिए ।

कार्यक्रममा कुम्मायक ३ का वडाध्यक्ष बाबुराम कार्की, ४ का वडाध्यक्ष फगेन्द्र बहादुर सम्बाहाम्फे र वडा नम्बर ५ का वडाध्यक्ष निर्मलराज घिमिरे लगायत स्वास्थ्यकर्मी, प्रहरी संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।