धरानमा राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आह्वान गरेको कोशी प्रदेश अन्तर्गत लिम्बुवान क्षेत्र बन्दको प्रभाव सामान्य देखिएको छ ।
विशेष गरी लामो दुरीका यातायातमा यसको प्रत्यक्ष प्रभाव देखिए पनि साना तथा छोटा दुरीका यातायात भने सुचारु अवस्थामा रहेका छन् ।
धरानको मुख्य चोक भानुचोकमा बन्दाकर्ताहरूले कुनै पनि सवारीसाधनहरूलाई प्रवेश गर्न दिएको छैन ।
साना तथा धरान भित्र सञ्चालन हुने सवारीहरूले भने भनुचोक प्रवेश नगरी सञ्चालनमा रहेका छन् ।
बन्दाकर्ताहरूले सवारीसाधन भानुचोकमा प्रवेश रोक लगाएपिछ अप्रिय घटना हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै भानु चोक आसपासमा प्रहरी परिचालन गरिएको छ ।
बन्दले विभिन्न जिल्लाबाट पिण्डेश्वर बाबा धाममा जल चढाउन आएकाहरू प्रत्यक्ष मारमा परेका छन्, ठुला सवारी सञ्चालनमा नआउँदा टेम्पु तथा सिटी सफारीले चर्को भाडा असुल गरेर इटहरी तथा पूर्वी जिल्लाको गन्तव्य लाने गरेको यात्रुहरूले बताएका छन् ।
धरानबाट छुट्ने पूर्वी पहाडी जिल्लाका सवारी साधन तथा विराटनगर र पूर्व तराइमा जाने बसहरू सञ्चालन भएका छैनन् । बन्दका कारण भानुचोक आसपासका पसलहरू सञ्चालनमा नभएपनि अधिकांश पसलहरू भने खुलेका छन् । धरानका पेट्रोलपम्पहरू भने बन्द रहेका छन् ।
पृथ्वीनारायण शाहले विक्रम सम्बत १८३१ साउन २२ गतेमा तत्कालीन लिम्बुवानका शासकसँग सम्झौता अधिकार खोसेको भन्दै प्रत्येक वर्षको साउन २२ गते बन्द गर्ने गरेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सचिवालय सदस्य सजन याक्खाले बताए ।
उनले एक दिने बन्दमा कोशी प्रदेश पुनःनामांकन संयुक्त सङ्घर्ष समितिको पनि ऐक्यबद्धता रहेका बताएका छन् । पहिचानको अधिकार स्थापित गर्न तथा कोशी प्रदेश पुनःनामांकन गर्न दबाब स्वरूप आज एक दिने बन्दको घोषणा गरेको जनाएका छन् ।