बर्तामोड । पशुमा लाग्ने लम्पीस्किन रोगको महामारी नियन्त्रणका लागि झापाका स्थानीय तहले खोप लगाउन सुरु गरेका छन् । झापाका १५ वटै स्थानीय तहले रोग नियन्त्रणका लागि खोप लगाउन सुरु गरेका हुन् ।

बिर्तामोड नगरपालिकाले आइतबारदेखि खोप लगाउन सुरु गरेको छ भने अर्जुनधारा नगरपालिकाले सोमबारदेखि खोप लगाउन सुरु गर्ने जनाएको छ । यसै गरी मेचीनगर, भद्रपुर, कनकाई, दमक, शिवसताक्षी, गौरादह नगरपालिकाले पनि खोप खरिद गरेर तयारी अवस्थामा राखेका छन् ।

गाउँपालिकाहरूले पनि लम्पी स्किन रोग विरुद्धको खोप खरिद गरिसकेको जनाएका छन् । उनीहरू कृषकसँग खोप लगाउने सन्दर्भमा दिन सक्ने सुविधाका विषयमा अध्ययन गरिरहेको बताएका छन् । खोप लगाउने प्रक्रियामा कृषकलाई बढी सुविधा उपलब्ध गराउनले विषयमा स्थानीय तह केन्द्रित रहेको बताएका छन् ।

बिर्तामोड नगरपालिकाले वडा न १० मा रहेको सफल गाई फर्मबाट यो रोग विरुद्धको खोप लगाउन सुरु गरेको हो । लम्पी स्किन असार अन्तिम साता देखि बिर्तामोडमा पनि धेरै देखिन थालेपछि रोग नलागेका स्वस्थ पशुहरूमा खोप लगाउन सुरु गरिएको पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

सबै वडाका कृषकहरूको घर घरमा पुगेर पशु प्राविधिकहरुले खोप लगाउने छन् । यसका लागि नगरपालिकाले १० जना प्राविधिक खटाएको छ । खोप लगाए बापत कृषकहरूले प्रति गाई १ सय ३० रुपैयाँ तिर्नु पर्ने छ । त्यसमा प्रयोग हुने सिरिन्ज, निडिल, प्राविधिकहरूको खर्च, खाना, यातायात लगायतको खर्च नगरपालिकाले व्यहोर्ने छ । १५ हजार गाईमा यो खोप लगाइने कार्यक्रम रहेकोले नगरपालिकाको मात्रै १७ लाख रुपैयाँ भन्दा बढी खर्च हुने पशुपन्छी तथा मत्स्य विकाश शाखाले जनाएको छ ।

अर्जुनधारा नगरपालिकाले भने कृषकसँग ५० रुपैयाँ लिने जनाएको छ । पशु शाखा प्रमुख पदम राईले कृषकसँग ५० र नगरपालिकाबाट १०० रुपैयाँ बेहोर्ने गरी खोप लगाउने तयारी भइरहेको जानकारी दिए । उनले प्रत्येक वडामा दुई दिनको हिसाबले प्राविधिक परिचालन गर्ने बताए ।

झापामा समेत लम्पी स्किन रोगबाट पशु मर्न थालेका छन् । यो रोगको नियन्त्रणका लागि स्थानीय तहले खोप अभियान सुरु गरेका हुन्  । यो रोग लागिसकेपछि गाईमा ज्वरो आउने, शरीरमा फोका देखा पर्ने, झोक्राउने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेको छ ।