धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ मा रहेको गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले १२ औं वार्षिकोत्सव तथा साधारणसभाको अवसर पारेर विभिन्न विधाका ५ जना स्रष्टालाई शनिबार सम्मान गरेको छ ।

प्रमुख अतिथि साहित्यकार दधिराज सुवेदीले कार्यक्रमको उद्घाटन गर्दै भने, ‘धेरथोेर सम्पत्ति सबैसँग हुन्छ, भएको सम्पत्तिलाई कसरी सदुपयोग गर्ने भन्ने पाठ विश्वभाषा पुस्तकालय धनकुटाका टीकाप्रसाद लामीछानेबाट सिक्नुपर्छ ।’ उनले थपे, ‘जीवन धिपधिप हुँदा पनि लामीछाले जीवनभर कमाएको सम्पत्ति लगानी गरेर धनकुटाको समाजको लागि पुस्तकालय खोलेर उदाहरणीय काम गरेका छन् ।’ ‘८४ वर्षको उमेरमा पनि धनकुटामा पुस्तकालय रुँगेर बस्नु भनेको सिङ्गो समाजको लागि अतुलनीय योगदान हो’–सुवेदीले थपे ।

कार्यक्रमका विशेष अतिथि प्रा.डा. टङ्क न्यौपानेले भाषा साहित्यको विकास र उन्नति गर्न धनकुटा उर्वरभूमि भएको बताए । उनले भने, ‘मैले धनकुटामा मात्र बसोबास रहेको आठपहरिया जातिको भाषामा पिएचडी गर्दा जीवनमा ठूलो सहयोग पाएको छु ।’ उनले पुस्तकालयका संरक्षक टीकाप्रसाद लामीछानेको ऊर्जालाई सम्मान गर्दै ८४ औं वर्ष पुगेको जन्मदिनको उपलक्ष्यमा शुभकामना व्यक्त गरे ।

सो अवसरमा गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले १२ औं वार्षिक उत्सव तथा साधारण सभामा भाषा, साहित्य, कला, संस्कृति र समाज सेवामा योगदान दिएका विभिन्न विधाका व्यक्ति एवम् संस्थालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । कार्यक्रममा गर्गश्री सम्मान तथा पुरस्कार भोजपुरको दिङ्लास्थित् षडानन्द माविलाई प्रदान गरिएको छ । त्यस्तैगरी मधुश्री विशिष्ट साहित्य पुरस्कार बागलुङका काजी रोशन, कृष्णकुमारी वेणीमाधव समाजसेवा पुरस्कार उर्लावारी–५ मोरङका मानबहादुर फागोलाई प्रदान गरिएको छ । त्यसैगरी गङ्गाराम भद्रशीला स्मृति पुरस्कार मोरङका नगेन्द्र पराशर, भाष्कर लामिछाने लोक संस्कृति पुरस्कार सङ्खुवासभाका युवा लोकगायक कमलीकान्त भेटुवाललाई प्रदान गरिएको छ । गर्गश्री सम्मानमा नगद १० हजार १ सय ११, मधुश्री विशिष्ट साहित्य पुरस्कारमा नगद १५ हजार १ सय ११ रहेको छ । अन्य तीन विधामा भने जनही नगद ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिएको छ ।

सो अवसरमा पुस्तकालयका संरक्षक टीकाप्रसाद लामीछानेले नेपालीमा अनुवाद गरेकोे ‘श्रीमद्भागवत गीता’ र धनकुटा तेलियाका कवि भोलानाथ घिमिरेको ‘सुपुत्रको खोजी’ कविता सङ्ग्रह लोकार्पण गरिएको थियो । प्रमुख अतिथि साहित्यकार दधिराज सुवेदी, विशिष्ट अतिथि प्रा.डा. टङ्क न्यौपाने, प्रा.डा. गोपाल भण्डारी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्राज्ञ विवश पोख्रेल, प्राध्यापक कविराज न्यौपानेलगायतले पुस्तकको लोकार्पण गरेका थिए । त्यसैगरी ‘श्रीमद्भागवत गीता’ को प्रा.डा.गोपाल भण्डारी र साहित्यकार एवम् सम्मानित व्यक्तित्व नरेन्द्र पराशरले टिप्पणी गरेका थिए । कवि भोला घिमिरेको ‘सुपुत्रको खोजी’ कविता सङ्ग्रहको टिप्पणी भने धनकुटा बहुमुखी क्याम्पसका प्रा.डा.यज्ञप्रसाद गुरागाईंले गरेका थिए ।

यसैगरी पुस्तकालयका संस्थापक तथा संरक्षक टीकाप्रसाद लामीछाने र पुण्यप्रभा लामीछानेलाई पनि संस्थाको तर्फबाट सम्मान गरिएको छ । संरक्षक लामीछानेको ८४ औं जन्मजयन्तीसमेत सो अवसरमा मनाइएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुमना तिम्सिनाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पुस्तकालयका अध्यक्ष घनश्याम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित एवम् पुरस्कृत हुनेहरूलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार दधिराज सुवेदी, विशिष्ट अतिथि प्रा.डा. टङ्क न्यौपाने, प्रा.डा. गोपाल भण्डारी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्राज्ञ विवश पोख्रेल, प्राध्यापक विकराज न्यौपानेलगायतले दोसल्ला, सम्मान–पत्र र नगद प्रदान गरेर सम्मान गरेका थिए ।

सो अवसरमा प्रदेश नं. १ का विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागी साहित्यिक स्रष्टाहरूले आ–आफ्नो रचना वाचन गरेका थिए । प्राज्ञ विवस पोख्रेल, साहित्यकारहरू मधुसुधन पोख्रेल, राधिका गुरागाईं, सरला चापागाईं, प्रमोद ढकाल, चिनु काफ्ले, मञ्जुश्री गिरी, हरि कट्टेल, गजेन्द्र घिमिरे, चूडामणि नेपाललगायतले आ–आफ्नो रचना वचान गर्दै साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । लोकगायक कमलीकान्त भेटुवालले भने ‘घोर्ली बाख्रो खोइ’ भन्ने बोलको लोकगीत गाएर सहभागीलाई नचाएका थिए । कार्यक्रमको सञ्चालन महासचिव मुकुन्द प्रयासले गरेका थिए ।

धनकुटा नगरपालिका वडा नं. ५ देवानटारमा रहेको पुस्तकालयको स्थापना वि.सं.२०६८ सालमा संरक्षक टीकाप्रसाद लामीछानेले गरेका हुन् । पुस्तकालयमा लामीछानेले २ करोडभन्दा बढी निजी लगानी गरेका छन् ।