बर्तामोड । बिर्तामोडमा डेङगु संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । यो सहित साउन महिनामा डेङगु संक्रमणबाट दुईजनाको मृत्यु भइसकेको छ ।

डेङगु संक्रमणबाट शुक्रबार साँझ बिर्तामोड ५ का ४४ वर्षिय बिचन्द्र लावतीको मृत्यु भएको हो । उनको केही दिनदेखि बीएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो । दुई दिनअघि लावतीलाई परिवारले अस्पतालबाट घर लिएर गएका थिए । घरमै उनको मृत्यु भएको जनाइएको छ ।

यसअघि साउनको पहिलो साता बिर्तामोड– ५ कै ४४ वर्षिया मदिना खातुनको डेङगु संक्रमणबाट मृत्यु भएको थियो । डेङगु पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ ।

बिर्तामोडका अस्पतालहरुमा डेङगुका विरामीले भरिन थालेका छन् । बिर्तामोडका अस्पतालहरुमा परीक्षण गराएका र भर्ना भएका संक्रमितहरुको बारेमा स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिकाले सही तथ्यांक निकाल्न सकिरहेका छैनन् ।

दुई दिनअघि स्वास्थ्य कार्यालय झापाले जिल्लामा २३८ जना डेङगु संक्रमित पुगेको तथ्यांक निकालेको थियो । तर, बिर्तामोडकै अस्पतालहरुमा सयभन्दा बढी डेङगु संक्रमित पुगिसकेका छन् । साउनको पहिलो साता मृत्यु भएकी बिर्तामोड ५ की महिलाको बारेमा समेत स्वास्थ्य कार्यालयले अझै रेकर्ड राखेको छैन । यसबाट डेङगु संक्रमितको रिपोर्ट लुकाउन खोजेको पुष्टि भएको छ ।