ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले सिदिङ्वा गाउँपालिकाका पहिरोपीडितलाई राहत रकम वितरण गरेको छ । 

सरोकार केन्द्रले गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर पीडितलाई आठ लाख ६७ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको परिवारलाई जनही १२ हजार तथा विस्थापित २७ परिवारलाई प्रतिपरिवार २५ हजारका दरले नगद हस्तान्तरण गरेको सरोकार केन्द्रका अध्यक्ष टङ्क श्रेष्ठले जानकारी दिए । 

उच्च जोखिममा परेका २० परिवारलाई प्रतिपरिवार छ हजारका दरले तथा दुई बिरामीलाई जनही १० हजारका दरले राहत प्रदान गरिएको छ ।

सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठसँगै महासचिव सन्तोष मादेन, सहयोग सङ्कलन समितिका संयोजक मिङ्माडण्डु लामा, सदस्य अनिल खड्का, सिदिङवा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरियालगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको हो ।

गत असार २ गते राति वर्षासँगै आएको बाढी र पहिराले सिदिङ्वमा तीन जनाको मृत्यु भएको थियो भने तीन अझै बेपत्ता छन् । 

पालिकाको वडा नं ६ मेहेले, वडा नं ७ सुरुङिख्म र वडा नं ३ आङ्खोप बढी प्रभावित भएका थिए ।

- फाइल तस्बिर