धरान । चिल्ड्रेन ट्यालेन्ट हन्ट–३ को उपाधि सिनियरमा होलीगार्डेन एकेडेमीका छात्र जेसन आचार्य र जुनियरमा सत्यशिशुकी छात्रा त्रिशाला श्रेष्ठले जितेका छन् ।

सिनियर र जुनियरतर्फका विजेताले जनही नगद ५० हजार रुपैयाँसहित ट्रफी पाए । धरान–१५ स्थित सदन सभाहलमा शनिबार सम्पन्न फाइनलमा आयोजक गरिमा डान्स सेन्टरले एक वर्षसम्म निःशुल्क रूपमा नृत्य सिक्ने अवसर प्रदान गरेको छ । यस्तै सिनियतर्फ फस्ट रनरअप डीपी विलिभर्स बोर्डिङ स्कुलकी सन्ध्या माझी र जुनियरमा मेरीगोल्ड स्कुलकी सदीक्ष राई भए । उनीहरूले जनही २० हजार र ट्रफी पाए ।

यस्तै सेकेन्ड रनरअपमा सिनियरमा केके इन्टरनेशनल स्कुलकी जेनिशा तामाङ र जुनियरमा जोलसाया एकेडेमीकी सेन्डिका लिम्बू बन्दै जनही नगद १५ हजार रुपैयाँ पाए । उनीहरूले आयोजकका तर्फबाट ६–६ महिनासम्म निःशुल्क नृत्य प्रशिक्षण गर्न मौका पाएको तालिम निर्देशक सुमित्रा राईले जानकारी दिइन् ।

यस्तै व्यक्तिगत टाइटल अवार्ड पनि वितरण गरिएको थियो । विद्यार्थीहरूको बाल प्रतिभालाई पहिचान गर्ने उद्देश्यले कार्यक्रम गरिएको तालिम निर्देशक राईले जानकारी दिइन् । उनका अनुसार फाइनल राउन्डमा ३१ जना सहभागी थिए । उनीहरूलाई विभिन्न जीवनोपयोगी सीप पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा विजेताहरूलाई मिस नेपाल सुगारिका केसी, सेन्टरका प्रबन्ध निर्देशक एवम् नृत्य निर्देशक मणिकुमार लिम्बूले पुरस्कार वितरण गरेका थिए ।