बिर्तामोड । २० रुपैयाँको एउटा इँटा सहयोग मागेर झापा नाटक घर निर्माणको अभियान सुरु गरेको ५ वर्षपछि थोरै रकम अभावमा काम सम्पन्न हुन बाँकी छ । इच्छाशक्ति र सही सामूहिक नेतृत्व पाउने हो भने जस्तोसुकै काम सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण बिर्तामोडमा निर्माणाधीन नाटक घर बनेको छ ।

झापामा प्रत्यक्ष व्यावसायिक रूपमा नाटक मञ्चन भएको नदेखेका झापालीले केही वर्षअघि नाटक हेरेपछि नाटक घरको आवश्यकताका बारेमा चासो राखेका थिए । बिर्तामोडमा चर्चित नाटक पर्खाल, लाटीको छोरो, बार्बरिक लगायत क्षितिज नाट्य समूहले प्रदर्शन गरेपछि नाटक घरको आवश्यकता महसुस गरिएको थियो । बहुजातीय सङ्ग्रहालयसहितको नाटक घर निर्माण गर्ने उद्देश्यले स्वर्गीय ज्ञानुराम प्रसाईँको नेतृत्वमा समिति गठन भएको थियो । २५ अर्बको लगानीमा सङ्ग्रहालय निर्माण गर्ने र २ करोड ५० लाख रुपैयाँको लगानीमा नाटक घर बनाउने उद्देश्य रहेको भए पनि अहिले नाटक घर भने निर्माणको अन्तिम चरणमा छ । करिब २५ लाख रुपैयाँ हुने हो भने एक महिनाभित्रमा नाटक घर सञ्चालनमा आउँछ । क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले भने, ‘कुर्सी र लाइट जडान गर्नेबाहेकका काम सकिएका छन् । हालसम्म १ करोड ९० लाख रुपैयाँ खर्च भइसकेको छ ।’

राज्यको तर्फबाट धेरै लगानी यहाँ भएको छैन । स्थानीय दाताको सहयोगमा अहिलेसम्म काम भइरहेको कल्पित बताउँछन् । ‘एउटा इँटादेखि ५ लाख ५० हजार रुपैयाँसम्म सहयोग गर्ने दाता हामीले पायौँ, ‘कल्पितले भने, ‘आज पनि हामी दाताको खोजीमा छौं ।’ कल्पितमा नाटकको हुटहुटी यति छ कि उनी जन्मथलो इलाम छोडेर केही समय पाँचथरमा यही सिलसिलामा बिताए । उनले झापा झरेपछि पनि नाटकलाई निरन्तरता दिए । हाल ५ सयभन्दा बढी सदस्य उनको नाट्य समूहमा आबद्ध छन् । उनलाई कतिले एउटा इँटा चन्दा मागेर नाटक घर बन्छ ? भनेर पागलसमेत भनेको उनी बताउँछन् ।  ‘हो म पागल नै भएँ, किनकि मलाई झापामा सुविधासम्पन्न नाटक घर बनाउनु थियो’–कल्पित भन्छन् । काठमाडौँपछि झापा कलाक्षेत्रमा अब्बल रहेको कल्पितको अनुभव छ । ‘यहाँ काम गर्ने मान्छेलाई साथ दिने पनि प्रशस्त छन्, खुट्टा तान्ने त जहाँ पनि हुन्छन्’ –उनीे अनुभव सुनाउँछन् ।

एउटा व्यक्तिको उपस्थितिले संस्थामा त्यस्तो ठूलो प्रभाव नपार्न सक्छ । तर, झापा नाटक घरलाई भने एउटा व्यक्तिको निधनले समयको सुई रोक्किएजस्तै भएको छ । संयोजक प्रसाईंको २०७८ असार २५ गते दुर्घटनामा निधन भएपछि नाटक घर निर्माणकार्य सुस्तायो । नाटक घर निर्माण व्यवस्थापनको जिम्मेवारी लिएका प्रसाईँको निधनले नाटक घर सम्पन्न हुन दुई वर्ष ढिला भएको छ । अहिले पनि स्रोत अभावमा निर्माण पक्षले सञ्चालनको मिति तय गर्न सकेको छैन । प्रसाईको कार्यकालमा ७० प्रतिशतभन्दा बढी भौतिक पूर्वाधार निर्माण भएको ठाउँमा उनको निधन भएको दुई बर्ष बितिसक्दासमेत २० प्रतिशत पनि प्रगति हुन नसकेको कल्पितले बताए । नाटक घर सञ्चालन गर्न आधुनिक लाइटको आवश्यकता पर्छ । आर्थिक अभावले त्यो जडान गर्न सकिएको छैन । २ सय ५० दर्शक क्षमताको नाटक घरमा कुर्सी जडान गर्न बाँकी छ । ती काम सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो रकम जुट्ने हो भने १५ दिनमा काम सम्पन्न गर्न सकिने निर्माण उपभोक्ता समितिका संयोजक मनोज निरौलाले बताए । नाट्य समूहले विभिन्न ९ वटा उपसमिति गठन गरेर निर्माण सुरु गरेको थियो । आज पनि कल्पितको नेतृत्वमा सहयोग जुटाउने कार्य जारी छ । उनी भन्छन्, ‘झापाबाट जितेर गएका सांसद्देखि स्थानीय पालिकाका प्रमुखसम्मलाई सम्पर्क नगरेको दिन छैन । तर, सहयोग भने अझै जुट्ने वातावरण बनेको छैन ।’ सरकारले नाटक घरको महत्व नबुझेका कारण अपेक्षित सहयोग नपाएको निरौला बताउँछन् । ‘हामीले राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री, सभामुखसम्मलाई सहयोग गरिदिन आग्रह गर्यौं, तर आशा गरे बमोजिमको सहयोग पाउन सकेनौं’–निरौलाले भने ।

निर्माण सुरु भएदेखि कल्पित र उनको परिवारले चारपानेमा रहेको घर छोडेका छन् । दाताले उपलब्ध गराएको १० कठ्ठा क्षेत्रफलमा निर्माण हुँदै गरेको नाटक घरमा उनीहरूको दिन बित्ने गरेको छ । कल्पित भन्छन्, ‘समाजका लागि केही गरेर देखाउँ भन्ने उद्देश्य छ, नाटक घर त सम्पन्न हुन्छ नै, सङ्ग्रहालयको समेत जग बसाउने लक्ष्य हाम्रो छ ।’

अभिनयमा जीवन्तता महसुस गर्न नाटक आवश्यक पर्छ । चलचित्रभन्दा फरक हुने भएकाले नाटकका आफ्नै विशेषता हुन्छन् । झापामा निरन्तर नाटक प्रदर्शन गर्ने लक्ष्य यो नाटक घर सञ्चालनमा आएपछि पूरा हुनेछ । कलाकार राख्नका लागि नाटक घरले नै सुविधासम्पन्न गेष्ट हाउस निर्माण गरेको छ ।