नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ ।

गत चैत १३ गते देखि पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।

गत सोमबार प्रहरीले आफ्नो अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको बयान थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ ।  न्यायाधिवक्ता नेउपानेका अनुसार शुक्रबार गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने छ । त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरूको बयान लिइने छ ।

प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत पक्राउ परेका छन्  ।