पथरी । मोरङको लेटाङ नगरपालिकाले दोश्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको सुरुवाती सय दिनको कार्य प्रगति सार्वजनिक गरेको छ । 

बुधबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि नगरपालिकामा जनप्रतिनिधि आएपछि भएका महत्वपूर्ण कामहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले नगरपालिकामा नयाँ नेतृत्व आएपछि भएका महत्वपूर्ण र नयाँ कामहरु बारे जानकारी गराका थिए । नगरपालिकाले पर्यटन विकास र शिक्षाको क्षेत्रमा अन्यन्तै नयाँ ढंगले उदाहरणिय काम सुरु गरिएको जानकारी दिइएको छ । 

पर्यटन विकासका लागि सडक सौन्दर्यकरण र गुराँस संरक्षण 

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख लावतीले नगरवासीलाई समेत नगरको विकासमा जिम्मेवार बनाउने उद्देश्यले खासगरि पर्यटन क्षेत्रको विकासका काममा नगरवासीलाई सहभागि गराएर केही नयाँ काम सुरु गरिएको जानकारी दिए । प्रमुख लावतीले लेटाङको पर्यटन विकासका लागि जनताको सहभागितामा सडक सौन्दर्यकरण, पर्यटकीय पदमार्ग निर्माण र गुराँस संरक्षण तथा पर्यटन क्षेत्र विकास कार्यक्रमको थालनी गरिएको जानकारी गराए ।

लेटाङ नगरपालिकाको प्रवेश द्वारको रुपमा रहेको लेटाङ कानेपोखरी सडकको गंगेचौकदेखि दक्षिण जंगलतर्फ सडक फराकिलो बनाएर १ किलोमिटर क्षेत्रमा सौन्दर्यकरणको काम सम्पन्न भएको छ । यसअघि फोहोर फाल्ने गरिएको सो क्षेत्रमा विभिन्न आकर्षक प्रजातीका फूल फूल्ने रुखका विरुवा रोपेर सौन्दर्यकरणको काम नगरपालिकाले सुरु गरेको प्रतिवेदनमा छ । नगरपालिकाले सडक फराकिलो बनाउने, विरुवा खरिद गर्ने र विरुवा संरक्षणका लागि तारजाली खरिद गर्ने काम गरेकोमा झाडी फाँड्ने, विरुवाको हेरचाह र गोडमेल गर्ने विषयमा स्थानीय सामुदायीक वनहरुले जिम्मेवारी लिएर काम गरिरहेको नगर प्रमुख लावतीले जनाए ।

यसरी रोपिएका सबै विरुवाहरुमा फूल फूलेपश्चात लेटाङ नगरपालिकाको प्रवेश मार्ग एउटा आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुने अपेक्षा गरिएको छ । नगरपालिको नेतृत्वमा प्रवेश मार्गमा सौन्दर्यकरणको काम सुरु गरेसँगै सो कार्यबाट प्रभावित भएर लेटाङ ४ र २ मा समेत स्थानीयवासीहरु स्वतस्फूर्तरुपमा सौन्दर्यकरणको काममा जुटेको नगरले जनाएको छ । यसैगरि पर्यटन विकासकै लागि लेटाङकै प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको राजारानी क्षेत्रमा जाने पुरानो पैदल मार्गलाई सफाइ गरि आकर्षक पर्यटकीय पदमार्ग निर्माणको काम पनि सुरु गरिएको छ ।

लेटाङ नगरपालिकाको आग्रहमा स्थानीयवासीको स्वतस्फूर्त सहभागितामा पदमार्गको झाडी फाँडेर सरसफाई गर्ने काम सम्पन्न भएकाले अब त्यस ठाउँमा नगरपालिकाले थप सौन्दर्यकरणको काम गर्ने र लेटाङ नगरपालिकाको वडा नम्बर ७ मा गुराँस संरक्षण तथा पर्यटकीय क्षेत्र विकासको काम पनि नगरपालिकाको आग्रहमा वडा र स्थानीयवासीको सहभागितामा सुरु गरिएको वितरित प्रतिवेदनमा उल्लेख छ । गुराँसको जंगल रहेको सो क्षेत्रमा स्थानीयवासीको सहभागितामा थप वृक्षारोपण गरि अन्य संरचनाहरु समेत बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरि नगरपालिकाले काम सुरु गरेको छ । नगरपालिकाको सानो लगानीमै जनसहभागिता जुटाएर उल्लेख काम गर्न सकिने भएकाले पर्यटन विकासका लागि सोहि अनुशार नगरपालिका अघि बढिरहेको छ ।

  शिक्षा क्षेत्रमा महत्वपूर्ण ४ वटा कामको थालनी

लेटाङ नगरपालिकाले पछिल्लो सय दिनको कार्यकालमा शिक्षाको क्षेत्रमा समेत महत्वपूर्ण काम गरेको पत्रकार सम्मेलनमा जनाएको छ । बालिका वचत कार्यक्रम, आमाबुबाविहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा, स्थानीय पाठ्यक्रम अध्यापनको सुरुवात र लिम्बू बाहुल्य क्षेत्रका विद्यालयमा लिम्बू भाषामा पठन पाठनका लागि तयारी सुरु गरिएको उपप्रमुख कृष्णकुमारी निरौलाले पत्रकार सम्मेलनमा जनाए ।

बालिका वचत कार्यक्रम अन्तरगत नगरपालिकाका पहाडी भूगोल भएका वडाका अब जन्मिएका बालिकाहरुको नाममा बैंक खाता खोलेर नगरपालिकाले १६ वर्षसम्म प्रत्येक वर्ष २ हजार रुपैयाँका दरले रकम जम्मा गरिदिने जनाइएको छ । यसरी नगरपालिकाले जम्मा गरिदिएको रकममा अभिभावकले पनि रकम थप गर्न सक्नेछन् भने सो रकम बालिकाले एसइइ उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने समयमा मात्र निकाल्न पाइनेछ । यसबाट नगरको पहाडी वडाका बालिकाहरुले बीचैमा पढाइ छाड्ने समस्या समाधान हुने तथा आर्थिक अभावका कारण एसइइ पछिको अध्ययन पुरा गर्न समस्या भएका बालिकाहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

बालिका बचत कार्यक्रमको नियमावली बनाएर कार्यान्वयनमा आइसकेको नगर उपप्रमुख निरौलाले जनाइन् । यसैगरि नगरभरिका आमाबुबा विहिन बालबालिकाहरुलाई नगरपालिकाले निःशुल्क अध्ययन गराउने कामको पनि सुरुवात गरेको छ । सरकारले विद्यालय तहको शिक्षा निःशुल्क भने पनि पूर्णरुपमा कार्यान्वयन नभएकाले शिक्षाको उज्यालो घामबाट नगर भित्रका कोही पनि बालबालिका बञ्चित नहोउन् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सुरु गरिएको उपप्रमुख निरौलाको भनाइ छ । 

नगर क्षेत्र भित्रका अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरे अनुशार त्यसको कार्यान्वयन गरिएको हो । लेटाङ नगरपालिको शिक्षा क्षेत्रमै अर्को महत्पवूर्ण काम पनि सुरु गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । बालबालिकाहरु आफ्नै ठाउँ बारे अनविज्ञ नहोउन् र आफ्नो ठाउँको प्रचार प्रसार होस् भन्ने उद्देश्यका साथ लेटाङ नगरपालिको स्थानीय पठ्याक्रम निर्माण गरि सबै विद्यालयमा पठन पाठन समेत सुरु गरेको छ । यस्तै लेटाङ नगरपालिकाका लिम्बू जातीको बाहुल्य रहेको क्षेत्रका विद्यालयमा लिम्बू भाषाको पठन पाठन सुरु गर्ने उद्देश्यका साथ पाठ्यक्रम निर्माणको काम अघि बढाइएको जनाइएको छ ।

लेटाङ नगरपालिकाले सुरुवाती  सय दिनमा  पर्यटन र शिक्षा क्षेत्र बाहेक विपद् न्यूनिकरण, स्वास्थ्य, सिचाईं, खानेपानी, खोला उत्खनन् नियन्त्रण, आपत्कालिन पूर्वाधार मर्मत र विभिन्न व्यक्तिहरुलाई सम्मान लगायतका कार्यक्रम पनि गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।