सुनसरी । सुनसरीबाट आर्थिक वर्ष २०७८/०७९ सालको असार मसान्तसम्म पाँच करोड ४४ लाख ५४ हजार ५ सय १२ रुपैयाँ बराबरको सामान भन्सार दाखिला भएको छ ।

भारतीय बजारबाट चोरीपैठारीसहित अवैधानिक तवरबाट ल्याइएका  विभिन्न पाँच करोड ४४ लाख ५४ हजार ५ सय १२ रुपैयाँ बराबरको सामान भन्सार दाखिला भएको सुनसरी भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजको  तथ्याङ्कअनुसार आर्थिक वर्षको असार मसान्तसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो ।

भारतीय बजारबाट अवैधानिक तवरबाट चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा सुनसरीका विभिन्न स्थानबाट गत आर्थिक वर्षको १२ महिनाको अवधिमा ४ सय २४ मुद्दामा जम्मा  पाँच करोड ४४ लाख ५४ हजार ५ सय १२ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको हो । जसअनुसार अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी सशस्त्र प्रहरीले सामान बरामद गरेको देखिन्छ ।

असार मसान्तसम्म सशस्त्र प्रहरीले २ सय २४ वटा मुद्दामा एक करोड ८६ लाख ७६ हजार ५ सय ६३ रुपैयाँ बराबरको सामान सुनसरी भन्सार कार्यालयमा दाखिला गरेको छ भने नेपाल प्रहरीले १ सय १ वटा मुद्दामा दुई करोड ४९ लाख ७९ हजार ८ सय ८३ रुपैयाँ बराबरको सामान दाखिला गरेको देखिन्छ । यस्तै सुनसरी भन्सार कार्यालयबाट खटिएको गस्ती टोलिले ९९ वटा मुद्दामा एक करोड सात लाख ९८ हजार ७२ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

एक करोड ९९ लाख राजस्व असुली
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्ती टोलीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको पाँच करोड ४४ लाख ५४ हजार ५ सय १२ रुपैयाँ बराबरको सामान भन्सार दाखिला गरेकोमा एक करोड ९९ लाख राजस्व असुली भएको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवार सरी आएका मुद्दा सङ्ख्या २७ वटासहित आर्थिक वर्ष २०७८/०७९ मा दाखिला भएका ४ सय २४ गरी जम्मा ४ सय ५१ मध्ये असार मसान्तसम्ममा ३ सय ७२ वटा मुद्दाको निर्णय भएको सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजको मुद्दा शाखाका केदार सापकोटाले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ सालबाट जिम्मेवारी सरी आएका २७ वटा मुद्दाको प्रतिवेदन मूल्य ८६ लाख १३ हजार ९५ रुपैयाँसहित गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४ सय २४ मुद्दाको प्रतिवेदन मूल्य पाँच करोड ४४ लाख ५४ हजार ५ सय १२ रुपैयाँमध्ये ३ सय ७२ मुद्दाको निर्णय भएकोमा एक करोड ९९ लाख ५७ हजार ७ सय १२ रुपैयाँ राजस्व असुली भएको हो ।

जसअनुसार सशस्त्र प्रहरीले दाखिला गरेको २ सय २४ वटा मुद्दामध्ये २ सय मुद्दाको निर्णय हुँदा बुझाएको प्रतिवेदन मूल्य एक करोड ८६ लाख ७६ हजार ५ सय ६३ रुपैयाँमध्ये एक करोड १७ लाख ९३ हजार ५ सय ७२ रुपैयाँ राजस्व असुली भएको छ भने नेपाल प्रहरीले भन्सार दाखिला गरेको १ सय १ मुद्दामध्ये ८४ वटा मुद्दाको निर्णय हुँदा बुझाएको प्रतिवेदन मूल्य दुई करोड ४९ लाख ७९ हजार ८ सय ८३ रुपैयाँमध्ये ६४ लाख चार हजार ५ सय ३८ रुपैयाँ राजस्व असुली भएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

यस्तै भन्सार कर्मचारीको गस्ती टोलीले ९९ वटा मुद्दामा प्रतिवेदन मूल्य एक करोड ७९ लाख आठहजार ७२ रुपैयाँ बराबरको सामान दाखिला गरेकोमा ८७ वटा मुद्दाको निर्णयहुँदा १७ लाख ५९ हजार ६ सय २ रुपैयाँ राजस्व असुली भएको पाइएको छ । जिल्लाका विभिन्न स्थानबाट सुरक्षाकर्मी र भन्सार कर्मचारीको गस्ती टोलीले बरामद गरेकामध्ये खाद्यान्न सामग्री, तरकारी, पशु चौपायालगायत म्याद नाघ्ने वा सड्ने सामान आफूहरूले तत्कालै लिलाम गरे पनि खासगरी सवारीसाधन प्राविधिक मूल्याङ्कनअनुसार लिलाम गर्नुपर्ने भएकोले प्रतिवेदन मूल्यअनुसार राजस्व असुली नभएको देखिएको सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजका निमित्त प्रमुख भन्सार अधिकृत पर्शुराम दाहालको भनाइ छ ।