गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको विजयले राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा गरेको छ । काठमाडौँमा बालेन साह र धरानमा हर्क साम्पाङको विजयले मूलधारको राजनीतिक दलहरूदेखि जनता र मतदातामा वितृष्णा र असन्तुष्टि रहेको देखिन्छ ।
साह र साम्पाङको विजयले काठमाडौँ र धरानमा मात्र होइन; मुलुकभर व्यापक चर्चा पाएको छ । कथित विश्लेषकहरू चकित परेका छन् । उनीहरूले अनुमान गरेभन्दा विपरीत परिणाम आएको छ तर मतदाता र जनता खुसी साथै उत्साहित छन् । बालेन र हर्कको विजयले मतदातालाई भेडा सम्झने खोज्ने दल र नेतालाई मतदानमार्फत् राम्ररी जवाफ दिएका छन् ।
यस्तै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको विजयले स्थापित राजनीति दल नेपाली काङ्ग्रेस र नेकपा (एमाले)को राजनीतिलाई अस्वीकार गरेको सन्देश दिएको छ । साम्पाङ सामाजिक अभियन्ताबाट राजनीतिमा उदाएका हुन् । उनी केही वर्षदेखि धरानका जनताले भोग्दै आएको खानेपानी समस्याको मुद्दामा खरो रूपमा सङ्घर्ष गर्दै आएका थिए ।
खानेपानी समस्या समाधानका लागि उनले धरानका जनतालाई आफ्नो योजना बताएका थिए । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भइरहेको भ्रष्टाचार र बेथिति विरुद्धमा सङ्घर्ष गर्दै आएका थिए । त्यस्तै प्राकृतिक स्रोतको जथाभावी दोहन विरुद्धमा पनि लड्दै आएका व्यक्ति हुन् । धरान वामपन्थीहरूको वर्चश्व रहेको ठाउँ हो । २०४६ सालको राजनीतिक परिवर्तनपछि निरन्तर वामपन्थीहरूले विजय हासिल गर्दै आएका थिए ।
गत २०७६ मा भएको उपनिर्वाचनमा भने काङ्ग्रेसका तिलक राई नगर प्रमुखमा विजय भएका थिए । यसपालि वाम गठबन्धनबाट काङ्ग्रेसका युवा नेता किशोर राई उम्मदेवार बनेका थिए । उप–प्रमुखमा अइन्द्रविक्रम बेघा उम्मेदवार थिए । बेघा विजय भए पनि प्रमुखमा राई साम्पाङसँग पराजित भएका छन् । वामपन्थीको गढ मानिएको धरानले अब संस्थापन दलहरूभन्दा इमान्दार, क्षमता भएको र विकासप्रेमी व्यक्ति चाहेको देखिन्छ ।
४० वर्षीय साम्पाङ सडकबाट उठेका अभियन्ता हुन् । धरानको समस्याहरूको समाधानका लागि दलहरूको स्थानीय सत्तालाई साम्पाङले दबाव दिए । स्थानीय साधनस्रोतको संरक्षणका लागि लड्ने क्रममा साम्पाङले स्थापित दलहरूलाई चुनौती नै दिएका थिए । यस पटकको निर्वाचनले वैकल्पिक उपाय खोजेको देखिन्छ ।
लोकतन्त्रको निरन्तरताका लागि निर्वाचन अनिवार्य छ । तर, निर्वाचन मात्र सबै थोक होइन । दल र नेता नसुुध्रिने हो भने निर्वाचनको अर्थ रहँदैन । यदि मतदाता सचेत रहे भने निर्वाचन राजनीतिलाई सुधार गर्ने अवसर पनि हो । दल र नेताले गलत प्रवृत्ति र आफ्नो स्वार्थमा उठाएका उम्मेदवारलाई अस्वीकार गरेर मतदाताले राजनीतिलाई सुधार गर्न सक्छ । राजनीतिमा मौलाउँदै गएको नातावाद, कृपावाद, नेताको स्वेच्छाचारिता र गलत प्रवृत्तिलाई फाल्ने अवसर पनि हो निर्वाचन । यो स्थानीय तहको निर्वाचनमा मतदातामा यो चेतना जागेको देखिन्छ ।
बालेन र हर्कको जितले समाजमा खुल्लापन आउँदै गरेको समाज बदलिँदै गएको र जनता र मतदाता शिक्षित र जागरुक हुँदै गएको देखाउँछ । यिनीहरूको विजय लोकतन्त्रबाट दलतन्त्रमा रूपान्तरित नेपालको समाकालीन राजनीतिको बेतिथि विरुद्धको मत हो । दलहरूको लुटतन्त्र, परिवारवाद, अर्कमण्यता र शक्तिको दलालीलाई जनताले अस्वीकार गरेका छन् । नेपालको राजनीतिलाई सिद्धान्तभन्दा काम गर्ने जनमुखी राजनीति चाहिएको छ । बालेन र हर्कलाई दिएको मतले त्यही सङ्केत गर्छ । सत्तामा पुगेर जनप्रतिनिधिले राम्ररी कार्यसम्पादन र डेलिभरि गरोस् भन्ने जनताले अपेक्षा गरेका छन् । साथै असल र इमान्दार राजनीति होस् भन्ने जनताको चाहना हो । त्यही चाहना पूरा गर्ने जनताले साह र साम्पाङलाई चयन गरेका छन् ।
धरानका प्रमुखले फोहरमैला सफा गरेर आफ्नो पहिलो सत्कर्म गरे । उनले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टचारीलाई नछाड्ने वाचा पनि गरेका छन् । त्यस्तै वाचा काठमाडौँका प्रमुख बालेन साहले पनि गरेका छन् । साम्पाङ स्थानीय साधन स्रोतको संरक्षण र विकासका लागि सङ्घर्ष गरेका व्यक्ति हुनाले धरानवासीले उनको कार्यकाल सुखद् हुने विश्वास गरेका छन् ।
साम्पाङ र बालेनको चुनाव प्रचारप्रसार अभियान विशेष गरेर सामाजिक सञ्जालमार्फत् भएको थियो । उनीहरूको विजयले धरान र काठमाडौँको जनताले आफूले सही व्यक्ति चयन गरेको अनुभव गरेका छन् । उनीहरू सामु धेरै चुनौती छन् । संस्थापन दलहरूले भन्दा सुकार्य गर्नुपर्ने चुनौती छ । स्थानीय क्षेत्रमा हुने कामहरूमा आफ्नो क्षमता देखाउनु पर्नेछ । धरानका जनता आफ्नो मतको सदुपयोग भएको हेर्न चाहन्छन् । यहाँ जहिले पनि वामपन्थीहरूले निर्वाचन जित्दै आए ।
तर ती वामपन्थी पनि सत्तामा पुगे पछि जनमुखी काम गर्न चुके । त्यही असन्तुष्टिले कारण धराने जनताले २०७६ को उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार तिलक राईलाई मत दिए । उनको कार्यकाल पनि त्यति सुखद् नरहेकाले यसपालि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई धरानका मतदाताले विजय गराए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा जनताले आफ्नो अभिमत उत्साहपूर्वक प्रकट गरेका छन् ।
यसपटकको निर्वाचनले जनताको समस्या केन्द्रित व्यक्तिहरूलाई चयन गरेको छ । वाद र सिद्धान्तहरूको नारा भन्दा व्यवहारिक विकासमुखी राजनीतिलाई चयन गरेको छ । अब मतदाता र जनता दलहरूभन्दा व्यक्तिप्रति लगाव हुन थालेका छन् । हर्क साम्पाङ र बालेन साहको विजयले यही कुराको सङ्केत गर्छ । यदि दलहरूको व्यवहार र काम गराई नसुध्रिने हो भने आउने दिनमा धेरै हर्क र बालेनको उदय हुन सक्छ ।