विजयपुर । सुनसरी जिल्लाभित्र सञ्चालन हुने यातायातका साधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएका छन् ।
नयाँ भेरियण्टसहितको कोभिड–१९ बढ्दै गएकाले रोकथाम तथा नियन्त्रणका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति सुनसरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको हो ।
मङ्गलबार कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस र गृह मन्त्रालयको परिपत्रको आधारमा कोभिड–१९ व्यवस्थापन समिति सुनसरीको निर्णयअनुसार आज (बुधबार) बाट लागू हुने गरी आदेश जारी गरिएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मास्क नलगाउने यात्रुलाई यातायातका साधन प्रयोगमा रोक लगाउने, चालक र सह–चालकले अनिवार्य मास्क लगाउनु पर्ने, यातायातका साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र साधन दैनिक निःसङ्क्रमित गर्नैपर्ने आदेश जारी गरेका छन् ।
साथै औषधिलगायतका अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना नगर्न, मूल्य वृद्धि नगर्न, नलुकाउन, सहज आपूर्तिमा अवरोध नगर्न पनि आदेश गरिएको छ । आदेशअनुसार २५ जनाभन्दा बढी सहभागी हुने मेला महोत्सव, सभा, सेमिनार गोष्ठीलगायतका कुनै पनि कार्यक्रम गर्न पाइने छैन ।
नियमित गर्नुपर्ने तथा नगरी नहुने कार्यक्रमको हकमा सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गरी स्थानीय प्रशासनलाई जानकारी दिई सञ्चालन गर्नु पर्नेछ ।
माघ १ गतेदेखि सार्वजनिक सेवा कार्यालय, होटल रेष्टुरेण्ट, सिनेमा हल, रङ्गशालालगायतमा कोभिड खोपको कार्ड अनिवार्य देखाउनु पर्ने (मोबाइलमा फोटो भए) पनि हुनेछ ।
कोभिड सङ्क्रमित व्यक्तिहरूको उपचारका लागि विगतमा सञ्चालनमा भएका आइसोलेसन सेण्टरहरू सम्बन्धित सरोकारवाला निकायहरूको आपसी समन्वय गरी सञ्चालनका लागि तयारी अवस्थामा राख्नुपर्ने जारी आदेशमा उल्लेख छ । आदेशको अवज्ञा गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार कारबाही हुने जनाएको छ ।