विराटनगर । निर्माण कम्पनीले सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी प्रयोगको कारणले मोरङको कानेपोखरीमा पिच गरेको सडक २४ घण्टा बित्न नपाउँदै उप्किएको छ । कानेपोखरी गाउँपालिका–६ पौडेल चौकदेखि पिङडाँडा जोड्ने पिच गरेको सडक एक दिन पनि बित्न नपाउँदै उप्किएको हो ।
पौडेल चौकदेखि खड्ग श्रेष्ठको घरसम्म करिब २ सय मिटर पिच गरेको सडकको कालोपत्रे उप्किन थालेपछि निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय खड्ग श्रेष्ठको घरअगाडि शुक्रबार साँझ गरेको कालोपत्रे बिहान उप्किएको छ ।
सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको स्थानीयले बताए । अब सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिएको स्थानीयको भनाइ छ ।
पिच सडक निर्माणमा कमसल सामग्री प्रयोग गरिएकाले कालोपत्रे गरिएको २४ घण्टा बित्न नपाउँदै उप्किएको स्थानीय खगेन्द्र बराइलीले बताए । ‘हतारमा शुक्रबार साँझतिर सडक पिच गरिएको थियो । हामीले राति भइसक्यो । उज्यालोमा गर्दा गुणस्तरीय काम हुन्छ भनेका पनि थियौं । तर, निर्माण कम्पनीले हतारमा काम गर्दा अहिले आएर पिच गरिएको सडकको कालोपत्रे उप्किएको छ’–उनले भने ।
मापदण्डअनुसार गुणस्तरीय काम नभएकोले स्थानीय तहबाट प्राविधिकसहितको टोली आएर गुणस्तरहीन काम भएको ठाउँमा पुनः निर्माण गरिनुपर्ने स्थानीयको माग छ । राम्रोसँग प्राइमर र सवबेस पनि मिलाएर नलगाउँदा कालोपत्रे उप्किएको स्थानीयको भनाइ छ । लाखौं खर्चेर निर्माण भएको पिच सडक बनाएको एक दिन पनि नबित्दै भत्किएर जानु लज्जास्पद भएको स्थानीय सिंह योञ्जनले बताए ।
कानेपोखरी गाउँपालिकाका इन्जिनियर रञ्जन निरौलाले गुणस्तरहीन काम भएको ठाउँमा ठेकेदारले पुनः निर्माण गर्नुपर्ने बताए । ‘पिच सडक निर्माणको क्रममा खराबी आएको ठाउँमा भत्काएर पुनः पिच गरिनुपर्दछ । त्यो काम ठेकेदारले गर्छ’–उनले भने । यसअघि पनि खराबी आएको ठाउँमा ठेकेदरले भत्काएर पुनः निर्माण गरेको उनले बताए ।
सडक निर्माणको काम सम्पन्न भएर ठेकेदारले गाउँपालिकालाई सडक हस्तान्तरण गरेको १३ महिनासम्म पनि कुनै ठाउँमा खराबी आए पुनः मर्मतको काम हुने उनले बताए ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर विमल निरौलाले मापदण्डभन्दा बढी कच्चापदार्थको प्रयोगले पनि कहिलेकाहीँ समस्या आउने गरेको बताए । मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भए पनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिएको र निरन्तर सुधार गर्दै आएको भन्दै उनले थप समस्या देखिएको ठाउँमा पुनः सुधार गर्ने प्रतिबद्धता जनाए ।
पौडेल चौकदेखि पिङडाँडासम्म १ दशमलव ७ किलोमिटर पिच सडक निर्माण गर्ने ठेक्का ९६ लाख ४६ हजार रुपैयाँमा मोरङको रतुवामाई नगरपालिकाको वीर निर्माण सेवाले पाएको हो । गतवर्ष सम्झौता भएर चालु आर्थिक वर्षको असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिनुपर्ने थियो ।
तर, कोभिड–१९ को कारणले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको भन्दै पाँच महिनाको म्याद थप गरी पुस महिनाभित्रमा पिङडाँडासम्म पिच सडक बनाइसक्नुपर्ने कानेपोखरी गाउँपालिकासँग भएको सम्झौतामा उल्लेख छ । शनिबारसम्म करिब ७ सय मिटर मात्र कालोपत्रे गरेको छ ।
सङ्घीय सरकारबाट आएको अनुदान र कानेपोखरी गाउँपालिकाको बजेटमा उक्त सडक निर्माण भएको हो । सम्झौताअनुसार निर्माण कम्पनीले ३० एमएमको मोटाइ अर्थात् तीन सेन्टिमिटर पिच र चौडाइ ५ मिटर गरिनुपर्ने सम्झौतामा उल्लेख छ ।