भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ ।

यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४९ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । सोही अवधिमा थप ३२५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८७ हजार ६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ८५ हजार ४१० रहेको छ । गएको २४ घण्टामा भारतमा १९ हजार २०६ जना कोरोनाबाट मुक्त भएका छन् ।

यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ४१ हजार ९ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७।८१ प्रतिशत रहेको जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ५३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो ।

सो समयदेखि हालसम्म एक अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।