सुनसरी । केही दिनयता सुनसरीसहित पूर्वी तराईमा ह्वात्तै जाडो बढेको छ । बिहानैबाट चल्ने चिसो हावासँगै जाडो बढ्दा जनजीवन कष्टकर बनेको हो । बिहान र साँझ शीतलहर तथा बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ ।
शीतलहर तथा बाक्लो हुस्सुका कारण खासगरी आर्थिक अवस्था कमजोर भएका वर्ग तथा आधारभूत आवश्यकताको काम गर्ने सर्वसाधारण बढी प्रभावित भएका छन् ।
सुनसरीको कोसी गाउँपालिका–८ मुसहरी बस्तीका अधिकांश सर्वसाधारणसँग बाक्लो कपडा नहुँदा पातलो कपडा लगाउँछन् । उनीहरू जनमजदुरी गर्न जाने गरेका छन् ।
शरीरमा लुगा नभएको र ह्वात्तै जाडो बढे पनि जीविका चलाउन सुकुम्बासी बस्तीका दलित समुदाय जनमजदुरी गर्न जाने गरेको कोसी गाउँपालिका–८ भण्टाबारीस्थित मुसहरी टोलकी शान्ति सदा बताउँछिन् । दिनभरको मजदुरीबाट आएको आम्दानीले साँझ खान पुग्ने भएकोले मुसहरी बस्तीका अधिकांश सर्वसाधारण जाडोमा बाक्लो लुगा नभए पनि काम गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।
‘के गर्ने ? कमाइ गरेन भने के खानु ?’ शान्ति भन्छिन्, ‘गरिबलाई के जाडो के गर्मी । जस्तोसुकै मौसम भए पनि आफू र आफ्नो परिवार पाल्न काम गर्नैै पर्यो ।’ घरमा त बाक्लो कपडा नभए पनि आगो तापेर दिन बिताउने गरे पनि काम गर्न जाँदा जाडोयाममा समस्या हुने गरेको कोसी गाउँपालिका–७ हरिपुरस्थित सुकुम्बासी बस्तीका सुरेन्द्र मुखियाले बताए ।
‘शीतलहर तथा हुस्सुका कारण जनजीवन कष्टकर छ, जाडोमा काम गर्न जानै मन लाग्दैन तर, के गर्नु, बाध्यता छ’–उनले भने । केही दिनयता शीतलहरले चिसो बढेपछि सदरमुकाम इनरुवा, लौकही, हरिपुर, भण्टाबारी, कोसी ब्यारेजसहितका बजारमा चहल–पहलसमेत घटेको छ ।
अत्यधिक चिसो बढेपछि स्थानीय तहसँग समन्वय गरेर सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा सर्वसाधारण तथा यात्रुलाई लक्षित गरेर चोक–चोकमा आगो बालेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । बिहान र दिउँसो घरबाट चोकमा आउने सर्वसाधारण, मजदुर तथा यात्रुहरूलाई जाडोबाट बच्न आगो बालिएको हो ।
कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ । अत्यधिक जाडो बढेसँगै निजी अस्पताल तथा एकमात्र सरकारी अस्पताल इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीको चापसमेत बढेको छ । खासगरी आजभोलि जाडोबाट प्रभावित बालबालिका र वृद्धवृद्धा अस्पताल जाने गरेका छन् ।
निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता रोग लागेकाहरू अस्पतालमा आउन थालेको चिकित्सकहरू बताउँछन् । चिसो छल्नका लागि विभिन्न चोक–चोकमा दाउरा बालेर आगो ताप्ने क्रम बढे पनि ग्रामीण भेगमा सर्वसाधारण आफैले घुरबाट आगो तापेर दिन बिताउने गरेका छ ।
चिसोले जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको छ । जाडो बढेकाले शरीरको सबै भागलाई छोपेर मात्र निस्कन, धेरै चिसो भएको बखत अति आवश्यक कामबाहेक घर बाहिर ननिस्कन, पोषिलो खाना खान, तातो खाना खान, न्यानो कपडा लगाउन, गेडागुडीको झोल पिउन चिकित्सकले सर्वसाधारणलाई आग्रह गरेका छन् ।