लक्ष्मीमार्ग । सिल्भर र पित्तल गालेर देवीदेवताको मूर्ति बनाउन मुस्लिम समुदायका मेहबुब खान खप्पिस छन् ।
उनले यसरी हिन्दु धर्मका देवीदेवताको मूर्ति बनाउन थालेको १२ वर्ष बितिसकेको छ । उनी यही पेशाबाट आफ्नो घरबार चलाउँछन् । यसैलाई उनले पेशाका रूपमा अँगालेका छन् । उनले नेपालका विभिन्न भागमा पुगेर हिन्दु धर्मावलम्बीहरूले पुज्ने देवीदेवताका मूर्ति बनाउँदै बिक्री गर्ने गरेका छन् ।
उनी भन्छन्, ‘आफ्नो जीविका चलाउनका लागि हिन्दु धर्मावलम्बीका देवीदेवताका मूर्ति बनाउन थालेको १२ वर्ष बितिसक्यो ।’ उनका अनुसार राधा, विष्णु, शिव, कृष्ण, गणेश, सरस्वती, दुर्गा, लक्ष्मी, हनुमानलगायत देवीदेवताको मूर्ति बनाउँछन् ।
‘मैले सानै उमेरमा धातुका सामान बनाउन सिकेँ, पुराना धातुजन्य सामग्री गालेर ग्राहकको मागअनुसार देवीदेवताका मूर्ति बनाउने गरेको छु’–खानले भने । भगवानका प्रतिमाको आकार दिन आरनमा पित्तल र सिल्भर गाल्दै गरेको अवस्थामा बेलबारी बजारमा भेटिएका खानको सीप हेर्नेहरूको भीड नै हुने गरेको छ ।
हिन्दु धर्मावलम्बीहरूले उनले बनाएको मूर्ति पूजा पाठ गर्नका लागि भन्दै खरिद गरेर लाने गरेका छन् । मुस्लिमको हातबाट बनेका मूर्तिहरू हिन्दुले पूजा गर्न लैजानुले समाजमा सकारात्मक सन्देश दिने गरेको सामाजिक अगुवाहरूको भनाइ छ । खानले रेडबुल र क्यान वियरका बट्टा, पुराना कुकर, कित्लीसमेतलाई गालेर भगवानको प्रतिमा बनाउन सकिने बताए ।
‘कामै नलाग्ने अवस्थामा पुगेपछि फ्यालिएका सिल्भर र पित्तलका वस्तुहरूलाई गालेर मूर्ति बनाउन सकिन्छ’ उनले भने, ‘प्रयोगविहीन बनेको भन्दै जथाभावी फ्यालिने वस्तुलाई सदुपयोग गर्ने यो एउटा उपाय पनि हो ।’ उनले एउटा मूर्ति बनाउन डेढ घण्टासम्म लाग्ने जानकारी दिए । ‘खाएर फ्यालिएका रेडबुलका २० वटा बट्टालाई गालेर एउटा सानो मूर्ति बनाउन सकिन्छ’ उनले भने, ‘ठूलो आकारको बनाउनु परे ६० वटासम्म चाहिन्छ ।’
एउटा मूर्ति बनाए बापत आफूले दुई सय ५० देखि ६ सय रुपैयाँसम्म लिने गरेको सुनाए । उनले दैनिक दुई हजार रुपैयाँभन्दा बढी कमाइ हुने गरेको बताए । सिल्भर र पित्तललाई गालेर कराही, दिउरे, ताप्के, डाडु र पन्युको आकार पनि दिन सकिने उनको भनाइ छ ।
‘सुरु–सुरुमा मुस्लिम भएर हिन्दुको मूर्ति बनाउँछ भनेर धेरै आलोचना पनि भयो । मलाई यो पेशा नगर्न धेरै अवरोध र विरोध गर्ने काम पनि भयो’ उनले भने, ‘जे जस्तो भए पनि सबै धर्म एउटै र समान हुन् भन्ने लाग्छ । त्यही भएर मैले हिन्दु धर्मावलम्बीले मान्ने र पुज्ने भगवानको मूर्ति बनाउने कला सिकेर त्यसैलाई निरन्तरता दिइरहेको हुँ ।’
त्यही कला र पेशाका कारण अहिले आफू र आफ्नो परिवारलाई धानिरहेको उनको भनाइ छ । अलीले आफूले बनाउने देवीदेवताका प्रतिमा हिन्दु धर्मावलम्बीहरूले पूजापाठ गर्नका लागि प्रयोग गर्ने गरेको सुनाए । ‘मुस्लिमले बनाएको मूर्ति लैजाँदैनौं भनेर कसैले भनेका छैनन्’ उनले भने, ‘बरु खरिद गरेर लैजानेहरू राम्रो मूर्ति बनाएको भनेर प्रशंसा गर्ने गर्छन् ।’