यासोक । पाँचथरको कुम्मायक गाउँपालिका—१ का नागरिकता विहीन शेरबहादुर बुढाथोकीले ६५ वर्षपछि नागरिकता र धन पुर्जा पाएका छन् । नागरिकता सहित उनले ३३ रोपनी १० आना ३ पैसा र तीन दामको जग्गाको धन पुर्जा पनि पाएका छन् । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ र १ नं.वडाका अध्यक्ष देवेन्द्रकुमार लावती लगायत जनप्रतिनिधि सहितको टोलीले बुढाथोकीलाई नागरिकता र धन पुर्जा दिलाउन सफल भएका हुन ।
“नागरिकता विहीन आमा छोरा बाख्राको खोरमा” शीर्षको समाचार पहिलो पटक ब्लाष्टखबरमा प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि गाउँपालिकाले पीडित आमा छोरालाई बाख्राको खोरबाट उद्धार गरी राह्रत वितरण गरेको थियो । गाउँपालिकाले सो समयमा २३ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, भाडा वर्तन र ७ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । देश विदेशबाट पनि पीडित परिवारलाई सहयोग जुटेको थियो । कोरोना महामारीमा खाद्यान्न वितरण गरेको पालिकाले प्रविधि समस्या भएको भन्दै तत्काल नागरिकता दिलाउन सकेको थिएन । त्यसको दुई वर्षपछि ८० वर्षीय आमा देविमाया बुढाथोकी मृत्यु भयो । आमाको मृतेपछि एक्लिएका छोरा शेरबहादुरलाई गाउँपालिकाले नागरिकता र धन पुर्जा दिलाएको छ ।
आमाको मृत्यु भएपछि शेरबहादुरलाई गाउँपालिकामा सात दिनसम्म सञ्चालन भएको मालपोतको घुम्तिशिविर मार्फत जग्गा धन पुर्जा वितरण गरेको थियो । त्यस्तै जिल्ला प्रशासनमा जनप्रतिनिधिहरूको रोहबरमा नागरिकता प्रदान गरिएको वडा अध्यक्ष देवेन्द्रकुमार लावतीले बताए । परिवारको जेष्ठी पट्टीको आमा र छोरालाई कान्छी पट्टीका परिवारले नागरिकता र धनिपुर्जाबाट वञ्चित पारेको स्थानीयले आरोप छ । लामो समयदेखि प्रयासपछि पीडित परिवारलाई अधिकार दिलाउन सफल भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।