सङ्खुवासभा । कोसी राजमार्गको मुख्य गन्तव्यको रूपमा रहेको खाँदबारी बसपार्क विगतबाट नै अस्तव्यस्त बनिरहेको छ । व्यवस्थित बसपार्क नहुँदा सवारी साधनहरूले विविध समस्या भोग्नु परेको छ ।
जिल्लाकै ग्रामीण क्षेत्रहरूमा आवतजावत गर्ने, धरान, विराटनगर, काठमाडौँ लगायतबाट दैनिक आवतजावत गर्ने साना तथा ठुला सवारी साधनहरूको सुरक्षित पार्किङ गर्ने बसपार्क नहुँदा समस्या हुँदै आएको हो ।
बसपार्क क्षेत्रमा यत्रतत्र सवारी साधन राख्दा ट्राफिक व्यवस्थापनमा नै समस्या भएको छ । व्यवस्थित बसपार्क नभएकै कारण यस्ता समस्या बढ्दै गएको छ । सवारी साधनको चाप बढ्दै जानु र व्यवस्थापन गर्ने निकायहरू मौन हुनुले समस्या भएको खाँदबारीका सवारी चालक रबिन घिमिरेको भनाई छ ।
२ वर्ष अगाडीबाट निर्माण सुरु भएको बसपार्कको काम अझै सकिएको छैन । पटक पटक म्याद थपेर आगामी चैत्रसम्म निर्माण अवधि थपेको निर्माण कम्पनी विभिन्न बहानामा पन्छिने गरेको छ । राजमार्गको सडकमा नै पार्किङ गर्नुपर्ने बाध्यता रहेको जहाँ पनि पटक पटक ट्राफिक प्रहरीले राख्न नदिने साथै निर्माणाधीन बसपार्क क्षेत्रमा पनि काम गर्ने भन्दै ठेकेदार कम्पनीले हटाउने गरेको सवारी चालक रन बहादुर तामाङको भनाई छ ।
बसपार्क निर्माणको काम भने बजेट अभाव भएको भन्दै सुस्त गतिमा भइरहेको छ । प्रदेश सरकारले ३ करोड ४८ लाख लागतमा निर्माण सुरु गरेको यो बहुबर्षिय योजनामा बर्षेनी कम बजेट विनियोजन गरेकै कारण काम ढिलो भएको निर्माण कम्पनीले बताउँदै आएको छ ।
बसपार्क निर्माणको लागि बनेको डिजाइन स्टिमेटमा नै त्रुटि भएको, करोना महामारी लगायतका कारण देखाउँदै निर्माण कम्पनी पन्छिने गरेको छ । निर्माण गर्ने मजदुर कन्स्ट्रक्सन प्रा।लि।का प्रतिनिधि छिरिङ शेर्पाले बजेट व्यवस्थापन गर्ने र पहल गर्ने निकायले कम बजेट पार्नु र कोरोना महामारीले काम गर्न नसकेको कारण ढिलो भएको बताए । उनले आगामी चैत्रसम्ममा निर्माण कार्य सम्पन्न गरिने बताए ।
सवारी साधनहरूको पार्किङ साँघुरो सडकमा गर्दा पैदल यात्रीहरूलाई समेत जोखिम बढेको छ । सडकको दुवैतिर पार्किङ गरेकोले कतिपय समय अन्य साधन नछिर्ने र पैदल यात्रीलाई ठोकाउने टुङ्गो हुँदैन ।
ड्युटीमा खटिएका प्रहरीले गाडी हटाउन मात्रै भन्ने तर कहाँ गर्ने भन्ने अन्यौल रहेको खाँदबारीका सवारी चालक देवराज श्रेष्ठले बताए । व्यवस्थित बसपार्क नहुनु र निर्माणाधीन बसपार्क बनिनसक्नुले समस्या भोग्दै आएका सवारी चालक तथा यात्रुहरूले सरोकारवालाहरूले ध्यान नदिएको गुनासो गर्ने गरेको छ ।
निर्माणाधीन बसपार्क कै क्षेत्रमा पनि केही सम्म्याइदिए आधा जसो भागमा पार्किङ गर्न सकिने सवारी चालकहरूको भनाई छ ।