विराटनगर । विराटनगरको गोल्छा चौकस्थित सिद्धार्थ बैंक लिमिटेडको निर्माण कार्यमा खटिएका मजदुरहरूले डेढ महिनायता ज्याला नपाएको भन्दै निर्माण कार्य अवरुद्ध गरेका छन् । उनीहरूले दैनिक ज्यालादारीमा निर्माण कार्यमा लगाए पनि ज्याला नदिएको भन्दै निर्माण कार्य रोकेका हुन् ।

श्रम गरे बापतको पारिश्रमिक नदिए निर्माण प्रक्रिया अगाडी बढाउन नदिने भन्दै उनीहरू बैंकको भवन निर्माण स्थल अगाडी भेला भएर प्रदर्शन गरे । श्रम गरे बापतको ठेकदारले ज्याला नदिँदा भोकै बस्नुपरेको उनीहरूले गुनासो गरेका छन् । 

विराटनगरको गोल्छा आँखा अस्पताल अगाडी सिद्धार्थ बैंक लिमिटेडको भवन निर्माण कार्य जारी छ । निर्माण कार्यमा मोरङ तथा सुनसरीका ग्रामीण भेगका मजदुरहरू खटिएका छन् । निर्माणमा खटिएका मजदुरले डेढ महिनायताको ज्याला रकम पाउन नसकेको कारणले समस्या आएको श्रमिक सञ्जय कुमार मलाहाले जानकारी दिए । ‘निर्माण कार्यमा खटिएको महिना दिन कटिसक्यो । दैनिक ज्यालादारी परिवारले पाल्ने हामी जस्तो श्रमिकलाई काम गरेको ज्याला बेलैमा नदिँदा परिवारको गुजारा चलाउन धेरै समस्या भयो,’ उनले भने । आफूहरूलाई निरन्तर श्रममा लगाइए पनि काममा लगाउने ठेकेदारले ज्याला नदिएका कारण आफूहरूले भोक भोकै बस्नुपर्ने अवस्था आएको  उनको भनाई छ । 

बैंकको भवन निमार्णका पेटी ठेकेदार राजकुमार पासवानले मजदुरहरूलाई नियमित रूपमा भुक्तानी दिने गरिए पनि यस महिना केही ढिलो भएको बताए । काम गरेको सबै श्रमिकको भुक्तानी दिएर काममा लगाउने उनले बताए । 

यता सिद्धार्थ बैंकका प्रदेश १ का प्रमुख कमल बस्नेतले बैंकले भवन निर्माणका लागि ठेक्का दिएकाले मजदुरहरूको भुक्तानीको विषय आफूहरूलाई थाहा नहुने बताए । ‘हामीले ठेकेदारलाई सम्पूर्णको निर्माणको ठेक्का दिएका हुन्छौँ । श्रमिकले पैसा पाए नपाएको हामीलाई थाहा हुँदैन । यो सबै विषय ठेक्का पाउने ठेकेदारलाई थाहा हुन्छ,’ उनले भने ।

सिद्धार्थ बैंकको यो भवन निर्माणमा दैनिक २ सय बढी निर्माण मजदुहरु खटिने गरेका छन् ।