विजयपुर । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको २ दिन बित्दासमेत धरानका सामुदायिक विद्यालयहरूले नतिजा परीक्षण नगरेको पाइएको हो । यसले सामुदायिक विद्यालयका नेतृत्वकर्ता तथा प्रधानाध्यापकहरू कति जिम्मेवार छन् वा चासो राख्छन् भन्ने कुरा देखाउँछ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह कक्षा–१२ को नतिजा शुक्रबार सार्वजनिक गर्यो । नतिजा सार्वजनिक भएकै दिन निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सञ्चालकदेखि शिक्षकहरूसमेतलाई कति विद्यार्थीले कुन ग्रेड र  के, कति जिपिए ल्याए भन्ने कुरा जानकारी भयो र निजी विद्यालयहरूले शुक्रबार बेलुका नै नतिजा सार्वजनिक समेत गरे ।

किनभने निजी विद्यालयका सञ्चालकहरूलाई जिम्मेवारी र चासो हुन्छ । तर, धेरै जसो  सामुदायिक विद्यालयहरूले  नतिजा प्रकाशन भएको २ दिन बित्दा पनि नतिजा परीक्षण नै गर्न भ्याएनन् । धरानको नमुना विद्यालय भनिने धरान–१२ स्थित पब्लिक हाई स्कुलले पनि परीक्षण गर्न भ्याएन ।

विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले शुक्रबार साँझ नतिजा परीक्षण गर्दा सर्भर नचलेका कारणले नतिजा हेर्न नसकिएको बताए । उनले शनिबार पनि विज्ञान सङ्कायका विद्यार्थीहरूलाई लिएर शैक्षिक भ्रमणमा गएकाले नतिजा परीक्षण गर्न नपाएको बताए । सर्भर नै नचलेको हो भने निजी विद्यालयको पनि नतिजा परीक्षण नहुनु पर्ने हो ।

पब्लिक मात्रै होइन, शारदा बालिका नमुना विद्यालयले पनि नतिजा परीक्षण गरेको छैन । विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर राईले नतिजा परीक्षण नगरेको बताए । किन परीक्षण नगरेको भन्ने जिज्ञासामा शुक्रबार पनि विद्यालय बिदा भएपछि मात्रै नतिजा सार्वजनिक भएको जानकारी पाएको र शनिबार बिदा भएकाले परीक्षण गर्न नसकेको बताए ।

त्यस्तै धरान–१३ स्थित पब्लिक मावि फुस्रेले पनि नतिजा परीक्षण गर्न भ्याएको छैन । विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम निरौलाले आफू शुक्रबार बिदामा रहेको र शनिबार पनि बाहिर नै रहेकाले परीक्षण गर्न नसकेको बताए ।  उनले भने, ‘शुक्रबार र शनिबार दुवै दिन बिदामा छु । नतिजाबारे जानकारी दिने अवस्थामा छैन । भोलि मात्रै दिनेछु ।’

नतिजा हेर्नका लागि विद्यालयका प्रधानाध्यापक नै हुनुपर्छ भन्ने छैन । प्रत्येक विद्यालयमा यस्तै प्रकारका प्रशासनिक कार्यका लागि राज्यले कर्मचारीको समेत व्यवस्था गरेको छ । तर, प्रअ निरौलाले आफू बिदामा भएकाले परीक्षण गर्न नपाएको भनेर पन्छिए । यसरी २ दिनसम्म नतिजा नहेर्नुले सामुदायिक विद्यालयमा प्रधानाध्यापक, शिक्षक, कर्मचारी र नेतृत्व कति उत्तरदायी, जिम्मेवार छन् र चासो राख्छन् भन्ने कुरा प्रष्ट पार्छ ।

सामुदायिकमा शिक्षा सदन उत्कृष्ट
धरानका सामुदायिक विद्यालयमध्ये शिक्षा सदन माविका विद्यार्थी अर्जना खाती कक्षा–१२ को परीक्षामा ‘ए’ प्लस ग्रेड ल्याउँदै उत्कृष्ट बनेकी छन् ।

व्यवस्थापन सङ्कायकी छात्रा अर्जना खातीले शैक्षिक सत्रको २०७७ सालको परीक्षामा ३ दशमलब ६८ जिपिएसहित ‘ए’ प्लस ग्रेड ल्याएकी हुन् । अर्जनाले २०७५ सालको एसईई परीक्षामा समेत ‘ए’ प्लस ग्रेड ल्याउँदै धरानमा सामुदायिक विद्यालयको उत्कृष्ट विद्यार्थी बनेकी थिइन् । उनले एसईई पनि शिक्षा सदनबाट नै उत्तीर्ण गरेकी हुन् ।

विद्यालयका सहायक प्रधानाध्यापक अशोककुमार पोखरेलले २०७५ सालको एसईई परीक्षामा ‘ए’ प्लस ल्याउने धरानकी एक्ली विद्यार्थी अर्जना भएको बताए । २०७७ सालको कक्षा–१२ को परीक्षामा सदनका ४ जना विद्यार्थी ‘ए’ ग्रेडमा उत्तीर्ण भएको प्रधानाध्यापक अमरबहादुर बस्नेतले जानकारी दिए ।

४ जनामध्ये ‘ए’ ग्रेड ल्याउनेमध्ये सबैभन्दा बढी जिपिए व्यवस्थापन सङ्कायका छात्र आकाश विकले ३ दशमलव ३१ लिएका छन् । सदनबाट कुल ९० जना विद्यार्थी परीक्षामा सहभागी भएको प्रधानाध्यापक बस्नेतले बताए ।

शिक्षा निकेतन माविका विद्यार्थी ‘ए’ ग्रेडमा मात्र उत्तीर्ण भएका छन् । विद्यालयका प्रधानाध्यापक उमेश चौंलागाईंले १२ जना विद्यार्थी ‘ए’ ग्रेडमा उत्तीर्ण भएको बताए । उनका अनुसार ‘ए’ ग्रेडमा उत्तीर्ण हुनेमध्ये सबैभन्दा बढी ३ दशमलव ४६ जिपिए ल्याएका छन् । विद्यालयबाट कुल ३ सय ६७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

भालुढुङ्गा मावि धरान–२० का ३ जना विद्यार्थी पनि ‘ए’ ग्रेडमा उत्तीर्ण भएका छन् । विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीका अनुसार कुल ४२ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । विद्यालयमा शिक्षा, मानविकी र व्यवस्थापन सङ्काय अध्यापन हुन्छ । धरान–११ स्थित ज्ञानोदय माविका प्रध्यानापक देवकुमार श्रेष्ठले विद्यालयबाट सहभागी २ सय १० जनामध्ये ‘ए’ ग्रेडमा ५ जना उत्तीर्ण भएको बताए ।

चन्द्रसंस्कृत माविका प्रधानाध्यापक अजय साहीले कुनै पनि विद्यार्थीको ग्रेड वृद्धि गर्नुपर्ने अवस्था नभएको बताए । विद्यालयका शिक्षक सूर्य अधिकारीका अनुसार ‘बी’ ग्रेडमा विद्यार्थी उत्तीर्ण भएका छन् । माध्यमिक परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेको थियो ।

संस्थागतमा विष्णु उत्कृष्ट
धरानका संस्थागत विद्यालयहरूमध्ये कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा विष्णु  मेमोरियल स्कुलको आएको छ ।

विष्णु मेमोरियल स्कुलको कक्षा १२ को नतिजामा धरानका सबै विद्यालयभन्दा धेरैले ‘ए’ प्लस ग्रेडमा उत्तीर्ण गरेका छन् । शैक्षिक सत्र २०७७ मा स्कुलबाट कुल १ सय ७४ विद्यार्थीले परीक्षा दिएकोमा २४ जनाले ‘ए’ प्लस ग्रेड ल्याउन सफल भएका छन् । जसमा सबैभन्दा बढी ३ दशमलव ७८ जिपिए ल्याउन सफल भएको स्कुलका प्रधानाध्यापक वेनिन्द्र कट्वालले जानकारी दिए ।

स्कुलमा व्यवस्थापन र विज्ञान सङ्कायमा अध्यापन हुँदै आएको छ । डिपोट स्कुलका प्रधानाध्यापक राजकुमार राईका अनुसार १ सय ७० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्ये ६ जनाले ‘ए’ प्लस ग्रेड ल्याउन सफल भएका छन् । सबैभन्दा बढी ३ दशमलव ७१ जिपिए ल्याएको उनले बताए ।

धरान आदर्शबाट ६ सय विद्यार्थीले परीक्षा दिएका थिए । ६ सय जनामध्ये ६ जना विद्यार्थीले ‘ए’ प्लस ग्रेड ल्याएर उत्तीर्ण गरेका छन् । ‘ए’ प्लस ल्याउने विद्यार्थीमध्ये सबैभन्दा बढी ३ दशमलव ६४ जिपिए ल्याएको विद्यालयका प्लस टु का को–अर्डिनेटर रामसवित यादवले जानकारी दिए । उनका अनुसार  १ सय ५० जनाले ‘ए’ ग्रेड ल्याएका छन् । धरान आदर्शमा पनि व्यवस्थापन र विज्ञान सङ्कायमा अध्यापन हुने गर्दछ ।

त्यसैगरी समिट स्कुलबाट ८१ जना विद्यार्थीले परीक्षा दिएकामा १ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको स्कुलका प्रधानाध्यापक रमेश दाहालले जानकारी दिए । ‘ए’ प्लस माउत्तीर्ण हुने विद्यार्थीले ३ दशमलव ६३ जिपिए ल्याएको उनले जानकारी दिए । नवज्योति स्कुलका विद्यार्थीहरूले भने ‘ए’ प्लस ल्याउन सकेनन् । ‘ए’ जिपिए मात्रै ल्याएको विद्यालयकी कर्मचारी उर्मिला राईले जानकारी दिइन् । उनका अनुसार स्कुलबाट व्यवस्थापन सङ्कायका १३ जना विद्यार्थीले परीक्षा दिएका थिए ।