धरान । नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने विषयमा सहमति भएको छ ।

नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो । उक्त श्रमसम्झौता पुनरावलोकन गर्न नेपाल कतार संयुक्त समितिको चौथो बैठकले यस्तो सहमति गरेको हो ।

कतारले नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धि गर्न कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने पनि सहमति बनेको छ । नेपालका श्रमिकका लागि रोजगारीको प्रमुख गन्तव्य कतार रहेको छ । घरेलु श्रमिकका विषयमा पनि कतार सरकारले आग्रह गरेको छ ।

नेपाल सरकारले घरेलु श्रमिकका विषयमा प्रतिबन्ध लगाएको छ । तर, घरेलु श्रमिकको हकमा दुई पक्षीय संयुक्त समिति गठन गर्ने र त्यसको सुझावका आधारमा श्रम सम्झौता पुनरावलोकनको क्रममा समेट्ने सहमति भएको छ ।

घरेलु श्रमिकलाई प्रतिबन्ध लगाएको हकमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरोकारवाला पक्षसँग छलफल गरी निर्णयमा पुग्ने बताए । उनले घरेलु श्रमिकको सुरक्षा र हितलाई ध्यानमा राखेर प्रक्रिया अगाडि बढाइने बताए ।

यसअघि श्रेष्ठले कतारको उच्चस्तरीय टोलीसँग श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा छलफल गरेका थिए । त्यस्तै संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु श्रमिक लैजाने देशले ७ वटा सर्त पूरा गरे मात्रै अनुमति दिन सरकारलाई निर्देशन दिएको थियो । कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीको नेतृत्वमा सहमति भएको थियो ।