धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालन कृषकहरूलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ । 

नगर क्षेत्रका १४० पशुपालन कृषकहरूलाई ५० प्रतिशत अनुदानमा च्यापकटर बुधवार वितरण गरिएको हो । विद्युतका माध्यमबाट चल्ने सो च्यापकटर गाई बस्तुलाई दिइने घाँस टुक्राउन उपयोगी मानिन्छ ।

नगरपालिकामा औपचारिक कार्यक्रम गरेर कृषकहरूलाई च्यापकटर हस्तान्तरण गरिएको छ । कार्यक्रममा छुटेकाहरूलाई केही दिनभित्रै वितरण गरिने नगरपालिकाले जनाएको छ । कृषकहरूलाई पशुपालनमा प्रोत्साहन र सहजीकरण गर्न नगरपालिकाले अनुदानमा च्यापकटर प्रदान गरेको नगरप्रमुख परशुराम नेपालले बताए ।

कृषि पेसालाई समय अनकुल यन्त्र उपकरणको प्रयोगबाट सहज र सरल बनाउन नगरपालिकाले सहयोग गर्दै आएको भन्दै नगर प्रमुख नेपालले आगामी दिनमा पनि कृषकहरूलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नगरपालिकाका उप–प्रमुख मञ्जु अधिकारी, वडा नं.१ का वडाध्यक्ष टेकबहादुर गुरुङ लगायतले च्यापकटरको प्रयोगबाट कृषकहरूलाई निकै सहज हुने विश्वास व्यक्त गरे । सो अवसरमा च्यापकटरका बारेमा जानकारी दिँदै, प्रयोग गर्ने तरिका पनि कृषकहरूलाई जानकारी गराइएको छ । च्यापकटरबाट घाँस काट्न छिटो, छरितो र सरल हुँने भएकाले निकै उपयोगी हुँने कृषकहरू बताउँछन् ।

सो च्यापकटरको बजार मूल्य प्रतिगोटा करिब ३५ हजार छ । नगरपालिकाले लाखौँ रकम खर्चेर कृषकहरूलाई अनुदानमा च्यापकटर दिएको हो । महालक्ष्मी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषकहरूलाई सहयोग गर्दै आएको छ ।