अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहार सम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मंगलबार घटना भएको हो । 

विद्यालयका १५ बर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका तीन जनाको मृत्यु भएको हो भने अरु आठ जना घाइते भएका हुन ।

गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेला बेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन् ।

घाइते भएका मध्ये एक जना शिक्षक रहेका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

घाइते मध्ये छ जनाको अवस्था सामान्य रहेको छ भने दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकहरुले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु भएका तीन जना मध्ये दुई जना छात्रा रहेका छन भने एक जना छात्र रहेका छन ।