धरान / दक्षिण अफ्रिकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।

ओमिक्रोम भित्रिन नदिनका लागि सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरूलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको हो । यो निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरूलाई परिपत्र गरिसकेको जनाइएको छ ।

दक्षिण अफ्रिकी मुलुकसँगै अन्य केही देशमा पनि ओमिक्रोन भेरियन्ट भेटिन थालेपछि छिमेकी मुलुक भारतले पनि यसको रोकथाम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउने निर्णय गरिसकेको छ ।