विराटनगर । अस्पताल छिरेपछि हरेक बिरामीले निर्धक्क उपचार पाउनु नैसर्गिक अधिकार हो । नेपालको वर्तमान संविधानले पनि त्यसको प्रत्याभूत गरेको छ । तर, विपन्न परिवारले पैसा अभावमा मृत्युवरण गर्नुपर्ने अवस्था आएको छ ।

शुक्रबार बिहान मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय एक युवाले उपचार गरेको रकम तिर्न नसक्दा अस्पतालबाट हाम्फालेर आत्महत्या गरेका छन् । विराटनगरस्थित गोल्डेन अस्पतालको तीन तला माथिबाट हाम्फालेर शिवकुमार मण्डलले अकालमा ज्यान गुमाएका छन् ।

यसअघि एक वर्षअगाडि पनि गत असोज १७ गते फोक्सोको उपचारका लागि अस्पतालको आइसियुमा भर्ना भएका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले पनि आत्महत्या गरेका थिए । उनले विराट नर्सिङ होमबाट हाम्फालेर आत्महत्या गरे । शुक्रबार मृत्यु भएका मण्डललाई उपचार गराउँदा लागेको खर्च नतिरेको भन्दै गोल्डेन अस्पतालले तीन दिनदेखि घर जान नदिई राखेको थियो ।

उपचारमा लागेको खर्च तिर्न नसकेका कारण घर जान नपाएका बिरामीले अस्पतालको तीन तलामाथिबाट हाम्फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । अस्पतालको तीन तला माथिबाट हाम्फालेपछि मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

अस्पतालको आकस्मिक कक्षमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । छारेरोग र मानसिक समस्या भएपछि उनलाई उपचारका लागि मङ्सिर ३ गते अस्पताल ल्याइएको थियो । आइसियुमा राखेर अस्पतालले उनको उपचार ग¥यो । आइसियुबाट वार्डमा सारेपछि घर लैजाँदा हुने भन्दै अस्पतालले मण्डललाई मङ्सिर ७ गते डिस्चार्ज दिएको थियो । तर, उपचारबापतको २१ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् ।

मृतकका आफन्त श्रीराम कामतका अनुसार उपचारमा लागेको रकम नतिरेसम्म बिरामीलाई लैजान नदिने भनेर अस्पतालले नै बन्धक बनाएर राखेको हो । अस्पतालको लापरबाहीको कारणले बिरामीको मृत्यु भएको उनले बताए ।

‘हस्पिटलमा बिरामी भर्ना भएको ठाउँमा स्वास्थ्यकर्मी, सुरक्षागार्ड सबै हुन्छन् । कसरी बिरामीले माथिबाट हाम्फाल्न सक्दछ ?’ कामतले भने, ‘यो सरासर हस्पिटलको लापरबाहीले बिरामीको मृत्यु भएको छ ।’ लापरबाही गर्ने अस्पताललाई कारबाही हुनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मृतकका आफन्तको माग छ । मृतकका पाँच वर्षको छोरा, चार वर्षीया छोरी र श्रीमती रहेका छन् ।

अस्पतालका अनुसार मण्डलको उपचारमा जम्मा ३८ हजार रूपैयाँ खर्च भएको थियो । उनको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको हुँदा उपचारमा लागेकोमध्ये १७ हजार रूपैयाँ मात्रै परिवारले तिर्न सक्यो । २१ हजार रूपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले घर जान दिएको थिएन । उनलाई अस्पतालमा रुँगेर उनकै सासू बसेकी थिइन् । प्रहरीका अनुसार सासू शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हाम्फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बिरामीको डिस्चार्ज भएकोले अस्पतालले जतिसक्दो चाँडो घर लैजानू भनेर भनिरहेको भए पनि परिवारका सदस्यले नै पैसा तिरेर मात्रै लैजान्छौँ भन्दै बिरामीलाई राख्दा यस्तो घटना भएको बताए । 

‘बिरामीमा मानसिक समस्या पनि रहेछ । उनले देखाउने अस्वभाविक व्यवहारले अरू बिरामीलाई पनि धेरै असर गरिरहेको थियो’ उनले भने, ‘त्यही भएकाले चाँडै घर लगिदिए हुन्थ्योभन्ने चाहना अस्पतालको पनि थियो । तर, परिवारले नलगेका कारण आज यस्तो घटना भइदियो ।’

मेहताका अनुसार अस्वभाविक व्यवहार देखाउने गरेका कारण बिरामीलाई अस्पतालका कर्मचारी र सुरक्षागार्डको निगरानीमा राखिएको थियो । अस्पतालको शøयाबाट भागेर हाम्फालेको उनले बताए । यसअघि पनि गोल्डेन अस्पतालबाट एक जना बिरामी हाम्फालेर घाइते भएका थिए । उपचारमा मानवीयता नदेखाइनु र आर्थिक अवस्था नाजुक भएको कारणले बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना भएको आफन्त श्रीराम कामतले बताए ।