विजयपुर । धरान रन समूहले बर्सेनि गर्दै आएको ‘१० के रन’ प्रतियोगिताबाट सङ्कलन भएको रकमले स्थापित गरिएको धरान रन नेवा च्यारिटी शिक्षा कोषबाट धरानका जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

समूहको धरान–२ स्थित कार्यालयमा शुक्रबार कार्यक्रम गर्दै धरानका सामुदायिक विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थीलाई स्कुल ब्याग, स्वेटरलगायतका सामग्री प्रदान गरेको हो । समूहले ‘शिक्षाको निम्ति च्यारिटी दौड’ भन्ने नाराका साथ १० के रन प्रतियोगिता गराउँदै आएको छ ।

कोषमा रहेको ब्याजबाट जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको समूहका अध्यक्ष रमु राईले शुक्रबारको पत्रकार सम्मेलनमा बताए ।उनका अनुसार धरान–५ स्थित हिमाली माविकी नानी तामाङ ‘पेमा’, धरान–१७ स्थित निम्न माध्यमिक विद्यालयकी रेविका बोगटी, लाक्पा छिरिङ शेर्पा, तारा कार्की, समर्पण राई र निर्मल थापा मगर रहेका छन् ।

त्यस्तै धरान–१९ स्थित किरातेश्वर माविकी मनिता घतानी र नेहाम कार्की, धरान–१० स्थित पञ्चायत माविकी उषा राई, धरान–३ स्थित भानुस्मृति माविकी अनु राई, धरान–२ स्थित शिक्षा निकेतन माविका नमुना कठेत र तोहीब अन्सारी रहेका छन् ।

यसैबीच समूहले ‘१० के रन दशौं नेवा च्यारिटी–२०७८’ फागुन ७ गते गर्ने भएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकधाविकाहरू सहभागी हुने जनाइएको छ । सहभागीका लागि शुक्रबारदेखि नै अनलाइनमार्फत् दर्ता फारम खुल्ला गरिएको छ ।

प्रतियोगितामा सहभागी हुनका लागि विद्यार्थीको हकमा ३ सय र अन्यको हकमा ४ सय रुपैयाँ दर्ता शुल्क लाग्ने जनाइएको छ । प्रतियोगितामा बालबालिकादेखि भेट्रान, सुपरभेट्रान सहभागी हुन पाउने समूहका अध्यक्ष रमु राईले बताए ।

प्रतियोगितामा खुल्लातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार, ३० हजार प्राप्त गर्नेछन् । त्यसैगरी १२ वर्षमुनिका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन् । १६ वर्षमुनिका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन् । ४० वर्षदेखि माथि भेट्रान दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन् ।

६० वर्षमाथिका प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागीलाई टिसर्ट उपलब्ध गराउने आयोजक समूहका प्रवक्ता गोपाल राईले जानकारी दिए । छिटो आइपुग्ने २ हजार जनालाई आकर्षक मेडल प्रदान गरिने समूहकी सदस्य रेश्मा सुब्बाले बताइन् ।

धरानका स्थानीय धावकधाविकालाई प्रोत्साहन स्वरूप प्रथम र द्वितीय हुने पुरुष र महिलालाई आकर्षक पुरस्कार दिइने समूहका अध्यक्ष रमु राईले बताए । प्रतियोगितामा ह्वीलचेयर–रेस पनि गराउने समूहका प्रवक्ता गोपाल राईले बताए । उनले ह्वीलचेयर–रेसमा सहभागी हुन अन्तर्राष्ट्रबाट आउने प्रतियोगीलाई खाने, बस्ने र यातायात खर्च व्यवस्थापन गर्ने बताए ।