सुनसरी । प्रदेश १ मा सवारी दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेहरूको सङ्ख्या प्रत्येक वर्ष बढेको छ । ज्यान जाने गरी दुर्घटना हुनुका मुख्य कारणहरू चालकको लापरबाही, तीव्रगति, मापसे रहेको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको पछिल्लो तीनवर्षको तथ्याङ्क केलाउँदा प्रदेश नम्बर १ मा ८ हजार ३ सय ४० सवारीसाधन दुर्घटना हुँदा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ९ सय २६ जनाले ज्यान गुमाएका छन् । तीमध्ये आर्थिक वर्ष २०७६/०७७ मा ३ सय ३२ जना, आर्थिक वर्ष २०७७/०७८ मा ४ सय ४४ जना र चालु आर्थिक वर्षको चार महिनामा १ सय ५० जनाले  ज्यान गुमाएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गत कात्तिक २१ गते बिहान तीव्र गतिमा रहेको मातृभाग्य रेखा बसले कोसी गाउँपालिका–८ स्थित भण्टाबारीमा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनामध्ये पछाडि बसेका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३५३० नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ प ०७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २० वर्षीय अल्ताफ मियाँ र पछाडि बसेका २६ वर्षका गियासुद्दीन मियाँको उपचारको क्रममा ज्यान गयो ।

यस्तै गत असोज २० गते राति इटहरी–१७ स्थित लायन्स चोकमा ना.६ ख ५६८१ नम्बरको ट्रकले इनरुवातर्फ आउँदै गरेको को.२० प ६७४७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सामाजिक काममा सक्रिय रहेका इनरुवाका २५ वर्षका युवा सुशान्त भट्टराई र सङ्खुवासभा घरभई जिल्ला अस्पताल इनरुवामा ओजिटीमा कार्यरत विभिषण विकको ज्यान गयो । यी त सवारी दुर्घटनाका उदाहरणमात्र हुन् ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नम्बर १ मा १ हजार ३ सय २२ दुर्घटना भएकोमा १ हजार ८ सय ६८ सवारीसाधन दुर्घटनामा परेका छन् । जसमा सबैभन्दा बढी मोटरसाइकल ८ सय ४१, बस १ सय ३५, ट्याङ्कर १ सय २२, जिप, कार २ सय २७, ट्याक्टर  १ सय ५७, टेम्पो १ सय १७, टिपर ४३, साइकल, ठेलागाडाजस्ता साधन १ सय ८०, माइक्रोबस ८ र अन्य ३८ वटा दुर्घटनामा परेका छन् । दुर्घटनामा परी ७ सय ९१ जना गम्भीर र १ हजार ४ सय ९ जना सामान्य घाइते भएका थिए ।

यसैगरी आर्थिक वर्ष २०७७÷०७८ मा ३ हजार १ सय ३१ वटा दुर्घटना भएकोमा ४ हजार ६ सय ५९ सवारीसाधन दुर्घटनामा परेका छन् । जसमा सबैभन्दा बढी २ हजार ६ सय ८५ मोटरसाइकल, ट्याङ्कर २ सय ५, डोजर–लोडर १६, बस १ सय ८, माइक्रो २७, जिप–कार ४ सय ३७, ट्याक्टर २ सय ४२, टेम्पो ३ सय ७२, साइकल, ठेलागाडा ३ सय ८७ छन् ।

उक्त दुर्घटनामा १ हजार ८३ जना गम्भीर र ३ हजार ७ सय ९३ जना सामान्य घाइते भए । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म १ हजार २ सय ९ वटा दुर्घटना भएकोमा १ हजार ८ सय १३ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । ३ सय ६८ जना गम्भीर र १ हजार ७ सय ६३ जना सामान्य घाइते भएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३ सय ४१ दुर्घटना भएकोमा चालकको लापरबाहीका कारण ५ सय ४२, तीव्र गतिका कारण ४ सय ८८, मादक पदार्थ सेवन (मापसे) का कारण ८६, ओभरटेकका कारण ६१ लगायत मुख्य कारण देखिएका छन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा ३ हजार १ सय ३१ दुर्घटना भएकोमा ९ सय ८ चालकको लापरबाही, तीव्र गति १ हजार २ सय ६६, मापसे ३ सय १६, ओभरटेक ८८ लगायत कारण देखिएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षमा १ हजार २ सय ९ दुर्घटना भएकोमा १ सय ९१ चालकको लापरबाही, तीव्र गति ६ सय ८, मापसे १ सय ३९, ओभरटेक ३२ लगायत दुर्घटनाका प्रमुख कारण देखिएका छन् ।

तीबाहेक यात्रुको गल्ती, ओभरलोड, चौपाया, सडक, मौसमलगायत कारणले समेत दुर्घटना हुने गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्रिवर्षीय दुर्घटना विवरणअनुसार प्रदेश नम्बर १ मा दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनाको सङ्ख्या र त्यसबाट हुने मृत्युको घटना चिन्ताजनक भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले बताए । उनले भने, ‘राम्रोसँग मोटरसाइकल चलाउन नजान्ने, बेफिक्रीसँग हाँक्ने, सवारीसाधन ओभरस्पिडमा ओभरटेक गर्न खोज्ने जस्ता कारणहरूले दुर्घटना हुने गरेको छ ।’

उनका अनुसार दुई पाङ्ग्रे सवारी दुर्घटनामा पर्नेहरूमध्ये अधिकांश १८ देखि ४० वर्ष उमेरका रहेका देखिन्छ । अन्य सवारीसाधनभन्दा दुई पाङ्ग्रे सवारीसाधन सुरक्षित नभएकाले चलाउँदा निकै होशियार रहनुपर्ने उनले बताए । पूर्वमा दुर्घटना न्यूनीकरण गर्न विद्यालयस्तरमा ट्राफिक सचेतनाका  कक्षाहरू चलाउँदै आएको डिएसपी तिम्सिनाले बताए । उनले भने, ‘समाजले निगरानी नराखे, परिवारले सचेत नगराए दुर्घटना कम हुँदैन ।’