सङ्खुवासभा । सदरमुकाम खाँदबारी र भोजपुरको षडानन्द नगरपालिकालाई जोड्ने लम्सुवाघाट अरुण नदीमा निर्माणाधीन पक्की पुल १२ वर्षदेखि अलपत्र बनेको छ ।

२०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पुलले पूर्णता पाउन सकेको छैन । एक सय ६७ मिटर लामो यो पुलमा हालसम्म ६ वटा पिल्लरमात्रै उठाउने काम भएको छ । सडक विभागको बेवास्ता र बीचमै काम छाडेर ठेकेदार हिँडेपछि पुल बेवारिसे बनेको हो ।

२०६७ सालमा सम्झौता भएको पुल यतिबेलासम्म नबन्दा भोजपुरका अधिकांश नागरिकले समस्या भोग्दै आएका छन् । बिरामी हुँदा त नजिकको सहर सङ्खुवासभाको तुम्लिङ्टार वा खाँदबारी सहर जान बोकेर लैजानु पर्ने बाध्यता रहेको स्थानीय धनबहादुर कुमाल बताउँछन् । अरुणपारिको छोटो दूरीको तुम्लिङ्टार नै आफूहरूको लागि परदेश बनेको उनीहरूको भनाइ छ । ११ वर्ष अगाडि निर्माण सुरु भएको पुलले केही आशा पलाएको थियो तर, अहिले निराश बनेका नागरिकहरू नेताहरूले नै वास्ता नगरेपछि अलपत्र बनेको आरोप लगाउँदै आइरहेका छन् ।

पुलको हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । समयमै पुलको काम नसकिँदा स्थानीय काठको डुङ्गा र गतवर्षदेखि सतीघाटमा सञ्चालित फेरीबाट सामान ओसार–पसार र आवत–जावत गरिरहेका छन् । लम्सुवाघाट नजिकैको सतीघाटमा बनेको फेरीले केही सहज बनाए पनि पक्की पुल बनेको भए धेरै राम्रो हुने स्थानीय रेखबहादुर आले मगरको भनाइ छ ।

स्वास्थ्य, शिक्षा, बजारलगायतका समस्या झेलिरहेका भोजपुरका अधिकांश नागरिकले नेताहरूको आश्वासनलाई विश्वास नै गर्न छोडेका छन् । प्रत्येक पटकको निर्वाचनमा चुनावी नारा बन्ने यो पुल अझै बनेको छैन । पुल नभएपछि हिउँदमा काठको डुङ्गा चलाइरहेको नरबहादुर कुमाल छोराछोरीलाई हिउँदमा विद्यालय जान सहज होस् भनेर डुङ्गा चलाइरहेको बताउँछन् ।

हिउँदको करिब ६ महिना डुङ्गाबाट आवत–जावत गर्न सकिए पनि बाँकी समय भने ३० मिनेटको गन्तव्य पुग्न ३ घण्टाभन्दा धेरै समय हिँड्नु पर्ने बाध्यता छ । तुम्लिङ्टारका खड्ग दमाईको लम्सुवाघाटपारि खेती छ । त्यहाँ जान र आउन उनलाई दैनिक हिउँदमा ५० रुपैयाँको डुङ्गा चढ्नु पर्छ भने बर्खायाममा ३ घण्टा हिँड्नु पर्छ । उनी भन्छन्, ‘यदि पुल भएको भए समय र पैसा पनि बच्नेथियो ।’

ठेकेदार कम्पनीले पुलको जमिन मुनिको पिलर विल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको कारण देखाउँदै काम गर्न छाडेको स्थानीय प्रशासनले जनाएको छ । सडक डिभिजन कार्यालयले पनि पुल निर्माण गर्नेतर्फ चासो नदिएको स्थानीयको भनाइ छ ।

खाँदबारी नगरपालिका र षडानन्द नगरपालिकामा पटक–पटक स्थानीयले यो विषयमा कुरा उठाएको र २ वर्षअघि षडानन्द नगरपालिकाका मेयर वीरबल राईले पनि पहल गर्ने बताएका थिए तर, ११ वर्ष बित्दा पनि केही भएको छैन । यता नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले तत्काल पुल बन्ने बताएर केही दिनअघि फर्किएका छन् ।

मुख्यमन्त्री राईले आफ्नो गाउँसँगै जोडिएको लम्सुवाघाटको अलपत्र पुललाई निर्माण सम्पन्न गर्ने वाचा गरेका छन् । मुख्यमन्त्री राई सोही लम्सुवाघाट हुँदै आफ्नो घर झ्याउँपोखरी जाने गर्छन् । गत तिहारमा घर आएका राईले स्थानीयको बधाई लिँदै विशेष प्राथमिकतामा यो पुल रहेको बताएका छन् । झ्याउँपोखरी, दिङ्ला बजारलगायतका स्थानमा आयोजित सार्वजनिक कार्यक्रमहरूमा उनले यस्तो बताएका हुन् ।

भोजपुरको उत्तरी क्षेत्रका बासिन्दाको किनमेल गर्ने बजार खाँदबारी नै हो । खाँदबारीबाट होलसेलमा बिक्री गर्न लगिएको दैनिक उपभोग्य सामग्री समय खर्चेर डुङ्गा र फेरीबाट तार्दा महँगो पर्ने र आवत–जावतमा समेत समस्या पर्ने गरेको छ ।