धरान १३ अमरहाट स्थित गुरुकुल प्रतिष्ठान, धरानले देउसी खेलेर उठेको रकमले धरान ३ मा रहेको सरस्वती बाल आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् ।      

 प्रतिष्ठानले मंगलबार आश्रममा नै पुगेर २० हजार रुपैयाँ बराबरको खाद्यान्न आश्रमका महासचिव मनिष खड्कीलाई हस्तान्तरणका गरेका थिए । प्रतिष्ठानद्वारा दुई सय केजी चामल, एक कार्टुन तेल, २० केजी दाल, २० केजी चिनी, २० केजी आलु, १० केजी प्याज र नुन प्रदान गरिएको प्रतिष्ठानका सचिव सुमन राईले जानकारी गराए ।

 गुरुकुल प्रतिष्ठान दुर्व्यसन सुधार तथा उपचार केन्द्र हो । हाल केन्द्रमा २५ जना उपचार तथा सुधारका लागि रहेको सचिव राईले जनाए । चाडबाडको बेला केन्द्रका सदस्यहरूलाई सामाजिक कार्यमा सहभागिता गराउनको लागि अभियानको साथ देउसी खेलिएको राईले बताए ।
 
प्रतिष्ठानले केन्द्रका सदस्यहरूलाई यसरी नै विभिन्न सामाजिक कार्यमा सहभागिता गराइ युवा तथा नागरिकको सामाजिक उत्तरदायित्वको विषयमा व्यवहारिक रूपमा बुझाउने कार्य गर्दै आइरहेको प्रतिष्ठानले जनाए ।

खाद्यान्न हस्तान्तरणको क्रममा आश्रमका महासचिव खड्कीले प्रतिष्ठान परिवारलाई सहयोगका लागि धन्यवाद दिएका थिए । धन्यवाद दिने क्रममा आश्रमको कुनै पनि विदेशी सहयोग दाता वा संस्था नरहेको र यसरी नै धरानका सहयोगी मन भएकाहरूले व्यक्तिगत तथा संस्थागत रूपमा गरेको सहयोगले आश्रम चलिरहेको बताए ।

हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मौसम राई, सदस्य सविन राई, आश्रमका बालबालिका लगायतको उपस्थिति रहेको थियो ।