कोभिड–१९ को महामारीका कारण गत वर्ष घरआँगनमै कृत्रिम जलकुण्ड बनाएर छठपर्व मनाएका तराईवासी यसपटक भने नदी र तलाउमै गएर पूजापाठ गर्ने तयारीमा छन् ।

स्थानीय तहमै छठपूजा समिति बनाएर भव्यरूपमा मनाउने तयारी गरिएको हो । समितिले छठ पूजालाई व्यवस्थित गर्न सफा पारिएको नदी किनारमा  स्वाथ्य मापदण्ड अपनाएर पूजास्थल तयार गर्न लागेको छ ।

झापाको मेची, निन्दा, कनकाई, बिरिङ, देउनिया, अन्दुवा, रतुवालगायत नदीमा पण्डाल टाँग्ने स्थान बनाएर यसपालि वृहत् तथा सामूहिक छठ पूजाको तयारी गरिएको हो ।

सोमबार नै भद्रपुरको मेची नदी किनारमा नेपाल र भारत दुवैतर्फ पूजास्थल बनाइएको छ भने नदीमा वारपार गर्नका लागि बासको पुलसमेत बनाइएकोे छ ।

यसपटक हजारौँको सङ्ख्यामा छठका बर्तालुहरूले सामूहिकरूपमा नदीमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छैठीदेवीको पूजा गर्दैछन् ।

कोभिड–१९ को सङ्क्रमण अझै रहिरहेको हुँदा दसैँ र तिहारमा जस्तै छठपर्वमा समेत जनसमुदायले संयमित भएर मनाउने अपेक्षा गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताए ।