विराटनगर /मोरङ जहदा गाउँपालिका–१ धुनीका ४० घरपरिवार रहेको सुकुम्बासी बस्ती जोड्ने सडक किनारको माटो गाउँका स्थानीय अगुवाले झिकेर बेचेका छन् ।

नालासहितको ४० फिटे सडक किनारको माटो झिकेर स्थानीय मिथलेस भन्ने शानदेव सरबरियाले बिक्री गरेको स्थानीयले बताएका छन् । व्यवसायीसमेत रहेका सरबरियाले सुकुम्बासी बस्ती जोड्ने सडकको किनारमा गहिरो खाडल बनाएर माटो झिकी बिक्री गरेको जहदा–१ धुनीका स्थानीय शिवप्रसाद सरबरियाले जानकारी दिए ।

‘सडकछेउको सार्वजनिक जग्गाको माटो झिकेर बेचिएको दुईसाता भयो । अहिले ठूलो खाडल बनेको छ । वर्षामा डुबान भई सडक नै बगेर जाने खतरा बढेको छ’ उनले भने, ‘सार्वजनिक ठाउँको माटो झिकेर मनलाग्दी रूपमा बिक्री गरेको जानकारी पनि स्थानीय प्रशासनलाई गराएका थियौं । त्यसको एक सातापछि अहिले माटो उत्खनन् गर्न छाडेका छन् ।’

सरबरियाले साढे चार फिट गहिरो खाडल बनाएर सडकछेउको माटो उत्खनन् गरेर ३० देखि ४० ट्याक्टर बेचेको स्थानीयको भनाइ छ । यो जहदा गाउँपालिका– १ नम्बर वडा कार्यालयदेखि सुकुम्बासी जोड्ने सडक हो । यही सडक हुँदै यहाँका ४० घरपरिवार सुकुम्बासीहरू जहदा गाउँपालिका र विराटनगर आवत–जावत गर्छन् ।

तर, यहाँका अगुवा व्यक्तिले नै सडक मास्ने गरी माटो उत्खनन् गरेर बिक्री गर्नेलाई प्रशासनले समेत कुनै कारबाही नगरेको भन्दै गुनासो गरेका छन् । ‘सडकदेखि ट्याक्टरबाट माटो बजारतर्फ लगेपछि कहाँबाट यत्रो ठूलो परिमाणमा माटो जाँदैछ भनेर खोजी गर्दा सडक किनारको माटो उत्खनन् गरेको पाइएको छ । त्यो पनि सार्वजनिक स्थलको माटो यसरी मनलाग्दी उत्खनन् गरेर बिक्री भएको छ’ स्थानीय जगनाथ रायले भने, ‘सार्वजनिक सम्पत्ति यसरी बाटो नै मास्ने गरी उत्खनन् गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्दछ ।’

माटो उत्खनन् गरी बिक्री गरेको आरोप लागेका सरबरियाले प्रतिट्याक्टर १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्ममा सडकको माटो उत्खनन् गरेर बिक्री गरेका छन् । उनले यो माटो जहदा गाउँपालिका–१ नम्बर वडामा बिक्री गर्छन् भने विराटनगरमा पु¥याउँदा प्रतिट्याक्टर तीन हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको स्थानीय बताउँछन् ।

सार्वजनिक सम्पत्ति त्यो पनि सडक मास्ने गरी उत्खनन् गरी बिक्री वितरण गर्ने सरबरियालाई कारबाहीको माग गर्दै कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी पनि स्थानीयले दिएका छन् ।

जहदा–१ धुनीका १२ जना स्थानीयले संयुक्त रूपमा हस्ताक्षरसहित बाटोको माटो उत्खनन् गरी बेच्ने सरबरियालाई कारबाही हुनुपर्ने माग राख्दै प्रशासनमा उजुरी दिएको स्थानीय खटरबहादुर गुरुङले जानकारी दिए । सरबरियाले को.त ३१४७ नम्बरको ट्याक्टरमा सडक उत्खनन् गरेको माटो लोड गरेर बिक्री गरेको स्थानीयको भनाइ छ । 

प्राकृतिक स्रोतको दुरुपयोग गरी बिक्री वितरण गर्ने विरुद्ध प्रशासनमा उजुरी गर्दा पनि माटो उत्खनन् रोक्ने कार्यबाहेक उनलाई कुनै कारबाही भएको छैन । अहिले उनी खुलेआम धनीपुर्जा भएको नम्बरी जग्गाको माटो काटेर बिक्री गरेको भन्दै गाउँघरमा हिँड्ने गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले केही दिनअगाडि सडकको माटो उत्खनन् गरी बिक्री गरेको भन्ने निवेदन आएको र घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय रानीको टोलीलाई पठाएको बताए । ‘निवेदन आएपछि घटनाबारे बुझ्न र अनुसन्धान गर्न हामीले प्रहरी टोली परिचालन गरेका छौं । के भएको हो, यस विषयमा बुझ्ने काम भइरहेको छ’ उनले भने, ‘माटो उत्खनन् गर्ने काम तत्काल रोक्ने र माटो झिकेको ठाउँमा पुर्न पनि मैले यसअघि निर्देशन दिएको छु ।’ यसरी सार्वजनिक सम्पत्तिको हानि नोक्सानी पुर्याए कानून अनुसार कारबाहीको प्रक्रिया पनि अगाडि बढाउने उनले बताए ।

यता सडकको माटो उत्खनन् गरेको आरोप लागेका शानदेव सरबरियाले आफूले आफ्नो नम्बरी जग्गाको माटो काटेर बिक्री गरेको दाबी गरेका छन् । ‘मैले सडकको माटो उत्खनन् गरेको छैन । आफ्नो नम्बरी जग्गाको माटो उत्खनन् गरेको हो’–उनले भने । उनले यसरी दाबीको साथ भनिरहँदा ब्लाष्टकर्मीले जग्गाको धनीपुर्जा देखाउनु माग गर्दा उनले भने, ‘समय लाग्छ । अहिले मैले जग्गाको धनीपुर्जा बैङ्कमा राखेर ऋण लिएको छु । त्यही भएर अहिले आफूसँग धनीपुर्जा छैन ।’ चाडपर्व सकिएपछि मात्र जग्गा धनीपुर्जा झिक्न सक्ने उनले बताए ।