पथरीशनिश्चरे । भूटानी शरणार्थी बालबालिकाहरुको शैक्षिक विकासमा विशेष योगदान पुर्याउने मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईसहित ३ जना सम्मानित भएका छन् ।

  शिविर व्यवस्थापन समितिले नगरको वडा नम्बर १० मा अवस्थित भूटानी शरणार्थी शिविरमा मंगलबार आयोजित कार्यक्रममा नगर प्रमुख राई र नगरको शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले सम्मानपत्रले सम्मानित भएका हुन् ।

शिविरमा बाटिका बाल विकास केन्द्र स्थापना गराई भूटानी शरणार्थी बालबालिकाको शिक्षाको क्षेत्रमा योगदान पुर्याएको भन्दै शिविर सचिव चम्पासिंह राई, विशिष्ट लोक गायक एलपी जोशी सहितले सम्मानित गरेका थिए । सो अवसरमा शिविरमा सहयोगको वातावरण सिर्जना गर्र्दै नेपाली लोक दोहोरी क्षेत्रमा योगदान पुर्याउने इन्द्रेणी कार्यक्रमका प्रमुख कृष्ण कँडेललाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख राईले तेस्रो मुलुक पुनस्र्थापना भएका भूटानी शरणार्थीहरुको संस्था जीबीओको सहयोगमा निर्मित ३ कोठे बाल विकास केन्द्र भवनको उद्घाटन् गर्दै शरणार्थीहरुका लागि नगरले पुर्याउन सक्ने सहयोग सधैं पुर्याइरहने बताए

। बालबालिकाको मनोसामाजिक, संवेगात्मक र भौतिक विकासका लागि स्थापित बालविकास केन्द्रमा हाल शिविरका ३ देखि ४ वर्षका ३९ जना बालबालिका रहेका छन् । त्यहाँ ३ जना सहयोगी कार्यकर्ता र एक जना कार्यालय सहयोगीको व्यवस्था गरि यो वर्षबाट सञ्चालन थालिएको हो ।

कार्यक्रममा, विशिष्ट लोक गायक एलपी जोशी, लोक गायकहरु सिताराम ताजपुरिया, विशाल राई, बालकृष्ण कार्की, बालकृष्ण सिग्देल, महेश बुढाथोकी सहित इन्द्रेणी कार्यक्रमका कलाकारहरु सहभागि थिए । इन्द्रेणी कार्यक्रमबाट लोकदोहोरी समेत प्रस्तुत गरिएको छ । तिहार तथा छैट पर्वको समेत अवसर पारेर कार्यक्रम गरिएको छ ।