विजयपुर । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विना निर्माण सुरु गरेको भोजपुर सदरमुकामको बसपार्क ६ वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन ।

बसपार्क निर्माण सम्पन्न नहुँदा अस्थायी बसपार्कका कारण बजार अस्तव्यस्त बन्दै गएको छ । स्थानीय निर्वाचन भई जनप्रतिनिधि आउनुपुर्व नै निर्माण सुरु भएको बसपार्क निर्माणमा १ करोड ५० लाख खर्च भए पनि डीपीआर विनै काम अगाडि बढेको हो । कुनै पनि ठूला आयोजना निर्माण सुरु हुनुपूर्व नै डीपीआरको आवश्यकता पर्छ ।

परियोजनाको विषयमा कति लागत लाग्छ, बजेट कहाँबाट व्यवस्थापन गर्ने, स्थान उपयुक्त हो कि होइन, कति समयमा लाग्छ जस्ता कुराहरूको विषयमा विस्तृत अध्ययन गर्नुपर्दछ । तर, भोजपुर सदरमुकामको बसपार्क अध्ययन विनै निर्माण सुरु गरेको पाइएको छ । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेका अनुसार तत्कालीन जिल्ला विकास समितिले विना डीपीआर निर्माण सुरु गरेको हाे ।

परियोजनाका विषयमा विना अध्ययन निर्माण सुरु गरेकाले बजेट अभाव, सारेकारवाला पक्षको मतभेदलगायतका कारणले पनि ६ वर्षसम्म बसपार्क निर्माण सम्पन्न नभएको हो । नगर प्रमुख आलेले आफू आउनुभन्दा पहिले नै निर्माण सुरु भएकाले डीपीआरका विषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।

उनका अनुसार १ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ भने अझै २ करोड रुपैयाँ लाग्ने छ । उनले भने, ‘ठूलो लागत चाहिन्छ, बसपार्क आफ्नो मात्रै दायित्वमा पर्दैन, उपमहानगरसँग पर्याप्त बजेट नभएकाले ढिलो भएको हो ।’ उनले अधिकतम् मापदण्डको बसपार्क बनाउन बीसाैँ करोड लाग्ने बताउँदै भने, ‘प्रदेश वा केन्द्रीय सरकारले निर्माण गर्नुपर्छ ।’

उनले बसपार्क पुससम्म सञ्चालनमा आउने बताए । भोजपुर बसपार्कका इञ्चार्ज महेश राई निर्माणाधीन बसपार्क अपायक स्थानमा भएको बताउँछन् । उनका अनुसार बसपार्कका लागि लामो समयसम्म बजेट लगानी गरिरहँदा पनि भौतिक संरचना अझै निर्माण हुन नसकेको हाे ।

‘सञ्चालनमा ल्याउने भनिएको छ, भौतिक संरचना निर्माण भइसकेको छैन, २ वटा शौचालय निर्माण भए पनि व्यवस्थित छैन, बसपार्कमा पिच भएकै छैन’ उनले भने, ‘पहिले नै उद्घाटन भएको हो, सडकभन्दा तल छ, बसपार्क होइन, गाडी राख्ने स्थान हुनसक्छ, बसपार्क हुनका लागि सडक सञ्जाल जोडिनुपर्छ ।’ अस्थायी बसपार्कले पनि सडकमा अवरोध नगरेको उनले दाबी गरे ।

शौचालय अभाव
भोजपुर सदरमुकाममा लामो समयदेखि अस्थायी रूपमा सञ्चालित बसपार्कमा सार्वजनिक शौचालय नहुँदा  यात्रुहरूले सास्ती खेप्दै आएका छन् ।

लामो समयदेखि भोजपुर बसपार्क सञ्चालनमा आए पनि हालसम्म शौचालय निर्माण नहुँदा यात्रुले सास्ती खेप्दै आएका हुन् । बसपार्क इञ्चार्ज महेश राईका अनुसार १५ वर्ष अघिदेखि बसपार्क सञ्चालित छ । तर, सो स्थानमा हालसम्म एउटा पनि सार्वजनिक शौचालय छैन । बसपार्कमा दैनिक सयाैँको सङ्ख्यामा मानिसको आवत–जावत हुन्छ ।

सो बसपार्कमा यात्रुलाई दिसापिसाब लागेमा कि बसपार्क नजिकका होटल जानुपर्छ, कि त बाहिर नै जानुपर्ने बाध्यता रहेको छ । भोजपुर बसपार्कमा आवत–जावत गर्ने यात्रुहरूले सार्वजनिक शौचालय नहुँदा सास्ती खेप्दै आएका छन् । भोजपुर बसपार्कमा भेटिएका यात्रु इन्द्रबहादुर दर्नालले शौचालय नहुँदा समस्या खेप्नु परेको बताए ।

‘यति धेरै यात्रु आवत–जावत हुने बसपार्कमा शौचालय नहुँदा समस्या छ’ उनले भने, ‘नयाँ मान्छेलाई झन् समस्या रहेछ ।’ अर्का यात्रु सविन पौडेलले पनि शौचालय नहुँदा समस्या भएको बताए । इञ्चार्ज राईका अनुसार बसपार्कले ४ रोपनी जग्गा मासिक १० हजार भाडामा लिएको छ ।

उनले बसपार्क क्षणिक समयका लागि भएकाले शौचालय निर्माण नगरेको बताए । उनले भने, ‘बसपार्कमा स्थानीयहरू बढी आउँछन्, उनीहरू नजिकका होटलमै जान्छन्, होटलले पनि दिन्छन्, नयाँ मान्छेलाई मात्रै समस्या हो ।’