बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित पतालगङ्गा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवती खनाल संस्थाको १ करोड ५० लाखभन्दा बढी रकम हिनामिना गरेर बेपत्ता भएका छन् ।

अध्यक्ष बेपत्ता भएपछि सहकारी सञ्चालक समितिले पक्राउ गरी रकम असुल गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेको छ । पेटसम्बन्धी समस्याको उपचार गर्ने भन्दै काठमाडौं गएका खनाल २४ गतेदेखि बेपत्ता भएको संस्थाका सचिव मोहनविक्रम मल्लले जानकारी दिए । उनी संस्थाको व्यवस्थापकसमेत रहेका थिए ।

सहकारी संस्थाको अध्यक्षले व्यवस्थापक हुन नपाउने प्रावधान विपरीत उनी व्यवस्थापक पदमा कार्यरत रहेका थिए । आफू व्यवस्थापक भएपछि खनालले आफन्तका नाममा ऋण निकासा गरेर बेपत्ता भएको पाइएको छ । खनालले श्रीमती, भाइ र आफन्तको नाममा १५/१५ लाखको कर्जा स्वीकृत गराएर सम्पर्कविहीन भएको सचिव मल्लले बताए ।

‘सहकारीको सञ्चालक समितिको बैठक बसेर ऋण परिचालनका लागि जिल्ला सहकारी सङ्घबाट १ करोड रुपैयाँ ऋण लिने निर्णय गरेका थियौं’ सचिव मल्लले भने, ‘त्यही रकम आफन्तको नाममा ऋण स्वीकृत गराएर उनी हराएका छन् ।’ मल्लले तेस्रो कार्यकालका लागि अध्यक्ष भएका खनालले बन्दाबन्दीको समयमा समीक्षा गर्न तथा बैठक बस्न नसकेको अवस्थाको फाइदा उठाएको आरोप लगाए ।

आफै अध्यक्ष तथा आफै व्यवस्थापक भएर खनालले मनोमानी गरेको सूचना पाएपछि सहकारी सञ्चालक समितिले हिसाबकिताब खोज्न थालेको थियो । हिसाब खोज्न थालेपछि खनाल बेपत्ता भएको मल्लले बताए । उनले अब कानूनी प्रक्रियाबाट खनालको खोजी गरिने जानकारी दिए ।

खनाल सम्पर्कमा नआएपछि लेखा परीक्षण गरिएको उनले बताए । लेखा परीक्षणमा १ करोड ५४ लाख ८२ हजार रुपैयाँ खनालले हिनामिना गरेको पाइएको मल्लले बताए । खनाल जिल्ला बचत तथा ऋण सहकारी सङ्घका लेखा समिति संयोजक पनि हुन् । उनले संस्थाको खाताबाट रकम निकासा गर्न तीनजनाको हस्ताक्षर चाहिने व्यवस्था मिलाएका थिए ।

अध्यक्ष, उपाध्यक्ष र लेखापालको हस्ताक्षरबाट रकम निकासा गर्दै आएको संस्थामा उपाध्यक्ष नभएको खण्डमा लेखापालबाट रकम निकाल्न मिल्ने व्यवस्था मिलाइएको पाइयो । अध्यक्ष खनालले लेखापाललाई हस्ताक्षर गराउँदै रकम निकासा गरेको देखिन्छ’ मल्लले भने, ‘लेखापाललाई समेत अध्यक्षले झुक्याएछन् ।’ कीर्ते हस्ताक्षर गरेर अध्यक्ष खनालले रकम निकासा गरेको सञ्चालकहरूले परिवारलाई समेत जानकारी गराइसकेको बताएका छन् ।

अध्यक्ष फरार भए पनि संस्थाले आफ्नो कारोबार नियमित जारी राखेको बताएको छ । ‘संस्था अध्यक्षको मात्र होइन, हामी सबैको हो’ सचिव मल्लले भने, ‘शेयर सदस्यको रकम फिर्तादेखि बचत सङ्कलन गर्ने कार्य जारी रहन्छ ।’ उनले अध्यक्ष फरार भए पनि सञ्चालक समिति आफ्नो दायित्वबाट पछि नहट्ने जानकारी दिए ।

अहिलेसम्म सबै कारोबार नियमित रहेको भन्दै उनले अब पनि संस्थामा आर्थिक सङ्कट आउन नदिने बताए । ‘हामी प्रहरीमा उजुरी दिन्छौं’ सचिव मल्लले भने, ‘प्रहरीले अदालतको अनुमति लिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ ।’ अध्यक्ष सम्पर्कमा नआए पनि सहकारीलाई कामकाजमा कुनै असर नपर्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।