यासोक । पाँचथरको सिवा दोभानको पक्की पुल मर्मत सम्भार गर्न पूर्वमन्त्री तथा सङ्घीय सांसद् वसन्तकुमार नेम्वाङले निर्देशन दिएका छन् ।
बाढी पहिरोको क्षतिबारे निरीक्षण गर्दै नेम्वाङले निबु र सिवा खोलाले क्षति पु¥याएकोे पक्की पुल तत्काल मर्मत गरी सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
अविरल वर्र्षाका कारण कुम्मायक गाउँपालिका र फिदिम नगरपालिका जोड्ने सिवा दोभानको पक्की पुलमा क्षति पुगेको थियो । निबु र सिवा खोलाले धार परिवर्तन गरी पुलमा आंशिक क्षति पुर्याएको थियो । पुलमा भएको क्षतिका कारण चाडपर्वमा जिल्लाका कुम्मायक, फाल्गुनन्द र तुम्बेवा गाउँपालिकाका नागरिक समस्यामा परेका छन् ।
नेम्वाङको निर्देशनपछि मध्य पहाडी पुष्पलाल लोकमार्गले पुल मर्मत सम्भार गर्ने भएको छ । क्षति भएको पुल मर्मत गरी केही दिनभित्रै यातायात सञ्चालन गर्न सोमबारदेखि काम थालिएको लोकमार्गको कार्यालयले जनाएको छ ।
वर्षाका कारण यासोक–उत्तरे र यासोक–मूलघाट सडक अवरुद्ध भएको छ । दुवै सडक अवरुद्ध हुँदा गाउँमै रोकिएका सयौं नागरिक यासोक–फिदिमबाट गन्तव्य पुग्न थालेका छन् । पुल बाढीले बगाउँदा वारिपारिबाट छुट्टाछुट्टै सवारी साधनको प्रयोग गर्न नागरिक बाध्य छन् ।
स्थानीयले पुलमाथि काठको फड्के निर्माण गरी दुई पाङ्ग्रे सवारी साधन जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । तमोर कोरिडोरअन्तर्गत पर्ने पक्की पुलको अनुगमन र निरीक्षण गर्न संविधानसभा सदस्य तथा नेकपा (एमाले) केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, जिल्ला समन्वय प्रमुख विष्णुप्रसाद सापकोटा र कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।