पाँचथर । पाँचथर जिल्लाको फिदिम–यासोक सडक खण्डको सखरखण्डे भन्ने स्थानमा भएकाे बस दुर्घटनामा बसमा सवार सबै घाइते भएका छन् ।
कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाको सिमाना सिवादोभानबाट यात्रु लिएर झापाको दमक जाँदै गरेको को १ ख ३८६५ को बस सडकबाट खसेको हो । बसमा ६४ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।
केहि व्यक्तिको मृत्यु भइसकेको आशंका गरिएको छ । यद्यपी यसबारे प्रहरीले आधिकारिक रुपमा जानकारी भने गराएको छैन । घाइतेहरुको फिदिमस्थित जिल्ला अस्पताल पाँचथर, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गम्भिर अवस्थाका घाइतेलाई थप उपचारका लागि जिल्लाबाहिर पठाउन एम्बुलेन्स र जीपको अभाव भएको प्रहरीले जनाएको छ ।