पथरीशनिश्चरे । उत्तरी मोरङ्गको लेटाङ्ग ८/९ मा संचालित जाँते खानेपानी संस्थाको निर्माण सम्पन्न भई हाल संचालनमा रहेको संरचना बाढीले बगाउँदा करोडौंको क्षति भएको छ । स्थानीयले खानेपानीको अभाव खेप्नु परेको छ ।

 गत कार्तिक १, २ र ३ गतेको लगातारको झरीका कारण आएको बाढीले तेली खोला किनारमा रहेको खानेपानीको संरचना बगाउँदा १ करोड ५२ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भइ स्थानीयलाई खानेपानीको समस्या भएको खानेपानी कार्यालयका कार्यालय सचिव प्रेम राईले बताए ।

बाढीले खानेपानी इन्टेक, एउटा गोदाम घर, १६०/१२०/९०/७५ एमएमको गरी जम्मा ७ हजार ५ सय मिटर एचडीपी पाइप र ढुङ्गा भरिसकेको स्पर जाली ५ सय थान बगाएको उनले जनाए । उनी भन्छन् ‘यो क्षति संस्थाकै इतिहासमा पहिलो पटक भएको हो । यस अघि हरेक वर्षा याममा  आउने बाढीले पाइप बगाएर लाखौंको मात्रामा क्षति पुर्याउने गरे पनि यस पटक भने इन्टेक र गोदाम घर लगायत जालीसमेतको संरचना बगाएकोले पनि यति ठूलो क्षति भएको हो ।’

 छुटटै जमिन अभावका कारण तेली खोलाको बगर किनारै किनार  खुल्ला तरिकाले पाइप बिच्छयाउनु, खोलाकै धारमा इन्टेक र गोदाम घर  निर्माण गरिनुले पनि संस्थाले आजको परिस्थिति भोग्नु परेको संस्थाका अध्यक्ष डिल्ली विश्वकर्माले उल्लेख गरे । बिगतका दिनमा विग्रिएको बढीमा ५ दिन भित्रमा पानी संचालन गर्दै आएको संस्थाले यस पटक भने मौसमले साथ दिएमा कम्तिमा पनि २ साता सम्ममा उपभोक्तालाई पानी खुवाउन सक्ने आशा राखेको बताए ।

  खोलामा इन्टेक राखेर पाइपबाट पानी ल्याउनु पर्ने वाध्यताले वर्षेनी खानेपानी भत्किदै आएको अवस्था छ । संस्थासँग एउटा भूमिगत जल श्रोतको माध्यम भए पनि त्यो श्रोत संचालन गर्ने दक्ष जनशक्तिको अभावमा हालसम्म त्यसबाट पनि पानी उपलब्ध गराउन नसकिएको विश्वकर्माले सुनाए ।

जिल्ला खानेपानी संस्थाबाट आफुले माग गरे बमोजिमको प्राविधिक जनशक्ति  उपलब्ध भएमा भूमिगत श्रोतको पानी दैनिक एक घण्टाका दरले वितरण गर्न सकिने छ । खानेपानी बगेपछि १ हजार ५ सय घरधुरीलाई खानेपानीको समस्या भएको उल्लेख गर्दै उनले भने  ‘ स्थानीयले अहिले कता कता टाढा पुगेर भूमीगत श्रोतको पानी २० रुपैंया घैलाका दरले किनेर खाई रहेका छन् । कतिले तेली र मोरङ्गे खोलाबाट घण्टौं लगाएर खोलाकै पानी ओसारीरहेका छन् ।’