बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा बिहीबार साँझसम्म ६२ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाममा १४, पाँचथरमा २८, उदयपुरमा २, धनकुटामा ७, सुनसरीमा ८ जना, मोरङ, भोजपुर र सोलुखुम्बुमा १–१ रहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

उनका अनुसार हालसम्म १३ जना बेपत्ता रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको छ । जसमा पाँचथरमा ६, इलाममा १, मोरङमा ३ र सुनसरीमा ३ गरी १३ जना बेपत्ता रहेका छन् ।

मृत्यु भएकामध्ये ५३ जनाको पहिचान खुलेको छ भने ९ जनाको पहिचान  खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । जसमा २६ पुरुष, १७ महिला, ७ बालक र ३ बालिका बाढी र पहिरोमा परेर मृत्यु भएको छ ।

बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित बनेका छन् । मोरङका विभिन्न स्थानमा दुई हजारभन्दा बढी घर डुबानमा परी सयौं विस्थापित बनेका छन् । सुनसरीका विभिन्न स्थानबाट १ सय ५० जनाको उद्धार गरिएको थियो । मोरङमा करिब पाँच सयभन्दा बढीको उद्धार गरिएको छ ।

 विराटनगर–१, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुबानमा परेका छन् । बूढीगङ्गा गाउँपालिका– १ र २, शान्ति चौक बस्ती डुबानमा परेको छ । रतुवामाई नगरपालिका–७ मा ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

यता पाँचथरमा बाढी पहिरोमा परी मृत्यु भएका २८ जनाको पोष्टमार्टम नगरी अन्त्येष्टि गरिएको छ । बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित वडाध्यक्षको रोहवरमा मुचुल्का उठाई दाहसंस्कार गर्ने, गराउने निर्णय गरी अन्त्येष्टि गरिएको हो । भौगोलिक विकटता एवम् घटनास्थलबाट सदरमुकाम जोड्ने सडकहरू क्षतविक्षत भएकाले पोष्टमार्टम नगरी दाहसंस्कार गर्न भनिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक पुण्यप्रसाद ढकालले जानकारी दिए ।

शव कुहिएर अन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राखी ‘शङ्कास्पद स्थितिमा मृत्यु भएको देखिन नआई विपद् प्रकोप (बाढी पहिरो) कै कारणबाट मृत्यु भएको प्रष्ट यकिन भएको’ अवस्थामा सम्बन्धित स्थानीय तहकै वडाध्यक्षको रोहवरमा मुचुल्का उठाई सद्गतका लागि परिवारलाई शव जिम्मा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ ।

ज्यान गुमाउनेमा सबैभन्दा धेरै दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिकाका रहेका छन् । मिक्लाजुङ गाउँपालिकाका २२, फाल्गुनन्द गाउँपालिकाका ३, फिदिम नगरपालिकाका २ र कुम्मायक गाउँपालिकाको १ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी इन्स्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए ।

बाढी पहिरोमा परी जिल्लामा ६ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा मिक्लाजुङ गाउँपालिकाका ३ जना, फिदिम नगरपालिकाका २ जना र फाल्गुनन्द गाउँपालिकाका १ जना रहेको इन्स्पेक्टर विश्वकर्माले जानकारी दिए ।

यता सुनसरीमा मृतकको सङ्ख्या ८ पुगेको छ । बिहीबार साँझसम्ममा बेपत्ता भएका तीन शव फेला परेसँगै जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या ८ पुगेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीनजना अझै बेपत्ता छन् । उनीहरू सबै इटहरी क्षेत्रका रहेको प्रहरीले जनाएको छ ।