मधुमल्ला। विगत दुई दिन देखीको अविरल वर्षाले मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बाढीको त्रास बढाएको छ । स्थानीय नुनसरी बक्राहा खोलामा आएको बाढीले दुई ठाउँमा बाध कटान गरी खोलाको उचाल गाउँ पसेको छ । मिक्लाजुङ वडा नम्बर ६ को बक्राहा खोला दक्षिणबाट मंगलबार राती खोलाको उछाल गाउँ पसेको स्थानीय गायत्री पौडेलले बताए ।
हाल सो स्थानमा करिब दुई सय मिटर बढी बाँध खोलाले कटान गरी क्षति पुर्याएको र खोलमा पानीको बहाव बढे जुन सुकै बेला खोला गाउँ पस्ने उच्च जोखिम रहेको पौडेलले बताए । मिक्लाजुङ वडा नम्बर ६ मा स्थानीय बासीहरू मिलेर खोलाले बाध कटान गरेको क्षेत्रमा तत्काल खोलालाई गाउँ तर्फ पस्न नदिन स्याउला, बाँस र बोरामा माटो भरी अस्थायी तटबन्धनको काम गरिरहेको स्थानीय युवा सुनिल माखिले बताए ।
यस्तै, मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मा निर्माणाधीन मदन मार्गको पुल दक्षिण बाट खोला गाउँ पस्दा केही घरहरूमा क्षति पुर्याएको र स्थानीयको लत्ता कपडा र अन्नपातमा क्षति पुगेको स्थानीय सुवा संकरले बताए वडा नम्बर ९ मा पनि मंगलबार राती करिब ९ बजेको समयमा खोला पसेको बतार्र्ईएको छ ।
हाल सो स्थानमा खोलाले कटान गरिहेको र थप क्षति हुन सक्ने बताईएको छ । वडा नम्बर ९ मा करिब ३ सय मिटर जति खोलाले बाध काटेको छ । बाँध कटान भएका दुबै स्थानमा खोलालाई च्यानलाइज गरेर खोलाको धार परिवर्तन गराउन मिक्लाजुङ गाउँपालिकाले दुबै स्थानमा स्काभेटर प्रयोग गरेर च्यानलाइज गर्ने काम गर्दै गरेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।
बेमौसमी समयमा प्राकृतिक विपद् आइ लागेकाले जनताको जिउधनको सुरक्षा गर्न मिक्लाजुङ गाउँपालिका प्रतिबद्ध भएर लागेको अध्यक्ष आचार्यले बताए । नुनशरी बक्राहा खोलामा आएको बाढीले मिक्लाजुङ र चुलाचुलीको सिमानामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र कुइनेटारमा समेत क्षति पुर्याएको छ ।
ओम कारेश्वर शिव मन्दिरमा कटान गरी मन्दिरलाई समेत क्षति पुर्याउने अवस्था आएको स्थानीय व्यवसायी राम दाहालले बताए ।
यस्तै, खोलाले तोरीबारी खानेपानी आयोजना र मावा मधुमल्ला खाने पानी आयोजना र करिब अधा दर्जन बढी सिचाइका मुहानहरूमा समेत बगाएर क्षति पुर्याएको स्थानीय केबी किराँतले बताए । मिक्लाजुङ २ को रचना क्षेत्रमा पनि खोलको उच्च जोखिम कायम रहेकाले सम्बन्धित निकायको ध्यान जानु अति आवश्यक रहेको स्थानीय केबी किरात बताउँछन् ।
नुनसरी बक्राहा खोलामा यस वर्षकै सबै भन्दा बढी पानीको बहाव देखिएको स्थानीयहरू बताउँछन् । नुनसरी बक्राहा खोलो विभिन्न ठाउँमा क्षति पुर्याए पनि हालसम्म कुनै मनविय क्षति भने भएको छैन ।
यस्तै मावा खोलाले पनि मिक्लाजुङको वडा नम्बर ८, ७ र ९ मा केही क्षति पुर्याएको बताइएको छ । मौसम अझैपनि उघ्रिन नसकेकाले खोलाधार र आस पासका क्षेत्रमा रहने जन समुदायलाई सतर्क भएर बस्न कुनै खतराको महसुस भए तत्काल सम्बन्धित वडाका जनप्रतिनिधि, मिक्लाजुङ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष वा प्रहरी कार्यालयहरूमा समेत गराउन मिक्लाजुङ गाउँपलिका अध्यक्ष देवी प्रसाद आचार्यले सबैमा अनुरोध गरेका छन् ।
यस्तै सबै वडा वडामा भएको क्षतिको विवरण माग गरिएको र किसानको पिडा स्थानीय सरकारले महसुस गरेको गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले बताए ।