विराटनगर । सङ्खुवासभा चिचिला गाउँपालिका ३ केराबारी स्थित अरुण तेस्रो जलविद्धुत आयोजनाको गाडी दुर्घटनामा परि आइतबार दुई जनाको मृत्यु भयो । आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको डब्लूबी ११ टिसी ०२९६ नम्बरको मिल्लर गाडी पल्टँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चालक भारत विहार का ३५ वर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपी का ४० वर्षीय श्रीनिवास सिंह रहेका छन् ।

बेलुका ८ बजे गिट्टी सिमेन्ट घोली पुर्‍याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १ सय ५० मिटर तल खसी दुर्घटना भएको थियो । सो दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरीले जनाएको छ । 

आइतबारनै सङ्खुवासभा मादी नगरपालिका – १ तिनजुरे स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर भिरबाट खसेर चालकको मृत्यु भयो । मृत्यु हुनेमा तेह्रथुम लालिगुँरास नगरपालिका १ घुर्मुसे का ३७ वर्षीय रमेश दाहाल रहेका छन् ।

आइतबार बिहान १ बजे टुटेबाट गुफा तर्फ जाँदै गरेको अन टेस्ट ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बायाँ अन्दाजी तीन सय मिटर तल भिरमा खसी दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमा नै मृत्यु भएको १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी मादी मुलखर्क, टुटे देउराली र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


यसै गरी झापाको भद्रपुर नगरपालिका ४ रंगेडाडामा फूलपातीको भोलिपल्ट मङ्गलबार भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भयो । सेफ्टीटेङ्की गाडीले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा साइकल यात्री भद्रपुर नगरपालिका ६ का ६० वर्षीय महेश सिंह राजवंशी रहेका छन् । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टीटेङ्कीको गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका राजवंशीको उपचारको लागी ओमसाई पाथीभरा अस्पताल भद्रपुर पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालक भद्रपुर नगरपालिका १० का २१ वर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा छन् ।


सवारी दुर्घटनामा मृत्यु हुने उल्लेखित घटना प्रतिनिधि मूलक हुन् । दशैं अर्थात् घटस्थापना असोज २१ देखि सोमबारसम्म १४ जिल्ला रहेको प्रदेश १ मा १ सय ५६ वटा सवारी दुर्घटनामा परि १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुने १६ जना पुरुष र १ जना महिला रहेको १ नं। प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते ५३ र सामान्य घाइते २ सय ४३ जना रहेका छन् ।

दशैं सुरु भएको ११ औँ दिनसम्म प्रदेशको सबैभन्दा बढी दुर्घटना मोरङमा भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ । मोरङमा दुर्घटना सङ्ख्या बढी देखिए पनि मृत्यु हुनेको सङ्ख्या कम रहेको छ ।  ५३ वटा दुर्घटना भएको मोरङमा चार जनाको मृत्यु भएको छ । मोरङपछि सुनसरीमा दुर्घटना बढी रहेको छ । सुनसरीमा ४८ वटा दुर्घटनामा परि पाँच जनाले ज्यान गुमाएका छन् । मोरङमा भन्दा चार वटा दुर्घटना कम भए पनि मृत्यु हुनेको सङ्ख्या बढी हो ।

यसै गरी झापामा २३ वटा दुर्घटनामा परि ४ जनाले अकालमै ज्यान गुमाएका छन् । उदयपुरमा १४ वटा दुर्घटना भएको छ । तर, दुर्घटनामा परि कसैले पनि ज्यान गुमाएको छैन । यस्तै सङ्खुवासभामा ७ वटा दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ ।

इलाममा एउटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धनकुटा, पाँचथर, ताप्लेजुङ, भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा दुर्घटना भए पनि कसैको ज्यान नगएको ट्राफिक प्रहरीले जनाएको छ । १४ जिल्ला रहेको प्रदेशमा १३ वटा जिल्लामा दुर्घटना भए पनि तेह्रथुममा दशैंको सोमबारसम्म आइपुग्दा कुनै दुर्घटना नभएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । 


राजमार्गमा भन्दा भित्री सडकमा बढी दुर्घटना 

साँघुरो सडक, कच्ची र जोखिम युक्त सडकको कारणले यस पटक मुख्य राजमार्गमा भन्दा पनि भित्री सडकमा सबैभन्दा बढी सवारी दुर्घटना भएको पाइएको छ । नयाँ खुलेका  भित्री सडकहरू  साँघुरो र समयमै निर्माण सम्पन्न नभएका जीर्ण सडकमा सबैभन्दा बढी दुर्घटना हुने गरेको १ नं। ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए ।


‘अहिले जति पनि दुर्घटना भएका छन् । त्यो राजमार्गमा भन्दा पनि भित्री र पहाडी जिल्लाको साँघुरो सडकमा बढी दुर्घटना भएको पाइएको छ,’ट्राफिक प्रहरी प्रमुख एसपी खतिवडाले भने, ‘साँघुरो र जीर्ण सडक । चालकको लापरबाहीपूर्ण तरीकारले सवारी चलाउँदा राजमार्गमा भन्दा पनि भित्री सडकमा बढी दुर्घटना भएको पाइएको छ ।’