धरान । ताप्लेजुङको फुङ्लिङ नगरपालिका ८ मेची लोकमार्गमा बलेरो जिप ब्रेक फेल भई दुर्घटना हुँदा ८ जना गम्भीर घाइते बनेका छन् भने ५ जना सामान्य घाइते बनेका छन् । 

ताप्लेजुङबाट तेल्लोकतर्फ जाँदै गरेको मे १ ज २०५६ नम्बरको बलेरो जिप बुधबार दुर्घटना हुन पुगेको थियो । दुर्घटनाबाट घाइते भएकाहरुलाई जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुर्घटनास्थल प्रहरी चौकी मेवाखाबाट अन्दाजी ८ किलोमिटर पश्चिममा पर्ने जनाइएको छ । 

गम्भीर घाइते हुनेमा गाडी साहुँ सिरिजंघा गाउँपालिका ६ का २७ वर्षीय सञ्जीव माबो, सोही ठाउँकै २६ वर्षीया प्रमिला लिम्बू, सोही गाउँपालिका ८ का ३० वर्षीय सन्त माबो लिम्बू, फुङ्लिङ नगरपालिका ४ का ३८ वर्षीय चन्द्र बस्नेत, ३१ वर्षीया नम्राता बस्ने, १३ वर्षीय रिपब्लिक बस्नेत र ७ वर्षीय रोमन बस्नेत छन् । त्यस्तै सोही ठाउँकै १७ वर्षीय अब्दुल करी गम्भीर घाइते बनेका हुन् । 

त्यस्तै फुङ्लिङ नगरपालिका ८ का ३८ वर्षीय चालक डिल्लीविक्रम सुनुवार, सिरिजंगा गाउँपालिका ६ प्रमिलाको ५ वर्षीय छोरा ससिहाङ माबो, छोरी २ वर्षीया फुङ्सामा माबो, फुङ्लिङ नगरापलिका ४ का ६७ वर्षीय उत उल्ला, र ३८ वर्षीय सजाद अली साधारण घाइते बनेका छन् । सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरी इटहरीले जनाएको छ ।