धरान/धरान–१२ को एम्स एकेडेमीले नयाँ विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई बिदाइ गरेको छ । 

धरान(१९ ब्रिटिस सामुदायिक भवनमा आयोजित कार्यक्रममा नेशनल मल्टिपल कलेजका विद्यार्थीलाई स्वागत गरेको हो । त्यस्तै हालै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई बिदाइ गरेको हो । एकेडेमीका प्रिन्सिपल मित्र तामाङका अनुसार कक्षा १२ का २०० भन्दाबढी विद्यार्थीलाई बिदाइ गरिएको हो । त्यस्तै नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको हो । 

कलेजले हालै नेशनल मल्टिपल कलेजलाई पनि समाहित गरेको छ । एकेडेमीका एकेडेमिक डाइरेक्टर नेत्र सुवेदीले नेशनल मल्टिपल कलेजलाई पनि गाभ्दै पाँचवटा नयाँ शैक्षिक कार्यक्रम ल्याउने तयारी रहेको बताए । उनले स्थानीय सरकारले शिक्षालाई न्यून लगानी गरेको अवस्था रहेको बताए । उनले प्लस टु तथा त्यसभन्दा माथिका तहलाई धेरै ध्यान दिन नसकेको दाबी गरे । ‘दायित्व हो भनेर लगानी गरेको देखिँदैन’ उनले भने । 

त्यस्तै म्यानेजमेन्टका संयोजक दुर्गा सुवेदीले आफूहरूले गुणस्तरीय शिक्षासँगै अनुशासनलाई प्राथमिकता दिएको बताए । उनले बिदाइ भएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गरे । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन कार्यक्रम गर्दै मनोरञ्जन प्रदान गरेको कार्यक्रम सञ्चालक तथा शिक्षक सन्तोष कोइरालाले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने विभिन्न सङ्कायका विद्यार्थीहरूले पनि कलेजलाई मायाको चिनो प्रदान गरेको थियो । एम्समा अहिले विज्ञान, शिक्षा, कलाशास्त्र र व्यवस्थापन सङ्काय अध्यापन भइरहेको छ ।